प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र परेका मानिसलाई स्वदेश ल्याउनुपर्ने बताएका छन्।
सीमामा अलपत्र परेका नेपाली र विदेशमा कोरोनाका कारण रोजगारविहीन भई अलपत्र परेका नेपालीलाई सरकारले फिर्ता ल्याउन नसकेको उनले बताए।
‘जसले सीमानामा अलपत्र परेको मेरो साथीलाई जोगाउन सकेन, उसले सीमा जोगाउँछ। भूमि फिर्ता ल्याइदिन्छ भन्ने रत्तिभर विश्वास छैन,’ सांसद थापाले भने।
उनले राष्ट्रियता भनेको माटो मात्र नभई मान्छे पनि भएको बताए।
‘राष्ट्रियता भनेको मान्छे पनि हो माटो पनि हो,’ उनले भने, ‘जसलाई पसिनाको गन्धको आनन्दको अनुभूति हुँदैन, त्यसले माटोको सुगन्ध पनि थाहा पाउन सक्दैन।’
मान्छे जोगाउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउँछ भन्ने आफूलाई रत्तिभर विश्वास नलागेको थापाले बताए। कोरोना महामारीले विश्वकै अवस्थामा खलबल पुर्यााएको र नेपाल पनि अछुतो नरहेको उनले बताए।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा बारीदेखि भकारीमा परेको प्रभावबारे खासै उल्लेख नभएको थापाको भनाइ छ।
‘सरकारको अभूतपूर्व कामले संक्रमण कम भयो भनिरहँदा संक्रमण कम भएको होइन परीक्षण कम भएको हो भनेर कसैले भनेन,’ थापाले भने।
उनले कोरोना नियन्त्रणका लागि सरकारले तयारी राम्रो नगरेको बताए।
‘कोरोनाबाट एउटा पनि ज्यान गएको छैन भनेर तिघ्रा ठटाउँदै गर्दा यस्तै शैली हो, यस्तै प्रवृत्ति हो, यस्तै काम गर्ने तरिका र तयारी हो भने अब केही दिन पछाडि मर्ने मानिसको संख्या गन्न भ्याइँदैन भनेर कसैले भनेन,’ सांसद थापाले भने।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू