१४ माघ २०८१

प्रधानमन्त्री ओलीले दिए घोषित लकडाउनको अवधी फेरि थपिने संकेत

७ बैशाख २०७७, आईतवार २१:५० मा प्रकाशित

काठमान्डौ , प्रधानमन्त्री केपी ओलीले वैशाख १५ गतेसम्मका लागि घोषित लकडाउनको अवधी फेरि थपिने संकेत दिनुभएको छ ।सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्रीले हिजो साझ पटक–पटक भारतमा कोरोनाको महामारीमा सुधार नआएसम्म नेपालको अवस्था खुकुलो नहुने बताउनुभएको हो ।‘भारतसँग मेरो कुरा भएको छ । मोदीजीसँग यसमा राम्रो समझदारी छ । उताको स्थिति नसुध्रिएसम्म हामी यताको नागरिकलाई उता र उताकोलाई यता फर्काउन सक्दैनौँ ।

अन्तर्राष्ट्रिय उडान र सीमाहरु सबै बन्द नै हुन्छन्’, उहाँले भन्नुभयो ।प्रेस सङ्गठनका पदाधिकारीहरुसङ्गको कुराकानीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान शेयर गरेअनुसार,संक्रमण रोकथामका लागि लकडाउनसँगै सीमा बन्द र देशभित्रै पनि आवतजावतको स्थिति नियन्त्रण गर्नु जरुरी भएको पनि प्रधानमन्त्रीले बताउनुभएको थियो ।लामो लकडाउनका कारण सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बनिरहेको,मुलुकको अर्थतन्त्र धराशायीउन्मुख रहेकोजस्ता विषयमा पनि सरकारी सञ्चारमाध्यमका सम्पादकले प्रधानमन्त्रीलाई प्रश्न गरे ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘अर्थतन्त्र,सर्थतन्त्रको कुरा अहिले हुँदैन । पहिलो कुरा कोरोनाको संक्रमण फैलिन नदिने हो । त्यसपछि अरु कुरा हुन्छ । अहिले यति घाटा भयो, उति घाटा भयो भन्ने कुरै नगरौँ ।’उहाँले ‘जनताको रुवाबासी, क्रन्दन र आतंक हेर्न सक्दैनौँ’ भन्दै ‘पहिलो कुरा जनता जोगाउने हो, लकडाउन नभएको देशमा कसरी महामारी फैलिएको छ त्यो हेरौँ । त्यसैले हामी सबभन्दा पहिला कोरोना संक्रमण अन्त्य सुनिश्चित गर्छौं’ भन्नुभयो ।उहाँले भारतका विभिन्न स्थानबाट स्वदेश फर्किन चाहेका र सीमापारि नै क्वारेन्टाइनमा राखिएका नेपालीबारे टिप्पणी गर्नुभयो ।

भन्नुभयो, ‘भारतले होटलमा राख्छु, खान दिन्छु भन्दाभन्दै यता दशगजामा आएर लम्पसार हुने,बेइज्जत गर्ने ?’ स्मरणीय छ, भारत सरकारले २१ सय ४६ नेपालीलाई सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा राखेर उनीहरुको स्वास्थ्यबारे हेरिरहेको छ ।शनिबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ठीक ४ बजे प्रधानमन्त्रीसँग कुराकानी शुरु गर्ने भनी ती सम्पादकलाई बोलाएका थिए । तर,कुराकानी भने ४ बजेर ५५ मीनेट जाँदामात्रै शुरु भयो । १४ प्रश्न थिए । तिनको उत्तर दिन प्रधानमन्त्रीलाई दुई घण्टा लाग्यो । अर्थात्, साँझ ७ बजेमात्र कुराकानी सकियो ।

कुराकानीअघि सूर्यले कोरोना संक्रमणको विश्वव्यापी स्थिति, नेपालको अवस्थादेखि शनिबार नै आइसोलेसन वार्डबाट डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठसम्मको प्रसंगबारे ब्रिफिङ गरे । सबै सरकारी सञ्चारमाध्यमका समाचार प्रमुख उपस्थित भएको उक्त भेटघाटमा रेडियो नेपालको भने उपस्थिति थिएन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter