०३ माघ २०८१

विश्वकप छनोट ः नेपाल जोर्डनसँग पराजित

२९ आश्विन २०७६, बुधबार ११:०७ मा प्रकाशित

काठमाडौँ, २९ असोज  कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । जोर्डनको अम्मान अन्तरराष्ट्रिय रङ्गशालामा गएराति भएको खेलमा जोर्डनसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खायो । जोर्डनको जितमा फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले एक÷एक गोल गरे । खेलको ५६औँ मिनेटमा फेरासले पेनाल्टीमार्फत एक गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फेरासले गोल गरेका थिए । यस्तै खेलको ८७ औँ मिनेटमा अहमेदले गोल गर्दै जोर्डनलाई दुई शून्यको अग्रता दिलाए भने खेलको ८८औँ मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३–० को सहज जित दिलाए । समूह बीमा अस्ट्रेलिया नौ अङ्कका साथ शीर्षस्थानमा छ भने सात अङ्क जोडेको जोर्डन दोस्रो स्थानमा छ । चार अङ्क बनाएको कुवेत तेस्रो, तीन अङ्क बटुलेको नेपाल चौथो तथा एक अङ्क पनि बटुल्न नसकेको चाइनिज ताइपेइ अङ्क तालीकाको अन्तिम स्थानमा छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter