स्याङ्जा, १० असोज गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणको काममा प्रदेश सरकार स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेश आन्तरिक भम्रण वर्ष २०१९ को सिलसिलामा स्याङ्जाको भिरकोट नगरपालिका–४ स्थित धार्मिक पर्यटकीय क्षेत्र छाङ्छाङ्दी छाँया क्षेत्र मन्दिरको बिहीबार दर्शन एवम अवलोकनका आगि आउनुभएका मन्त्री लम्सालले गण्डकी प्रदेश धार्मिक एवम पर्यटकीय क्षेत्रका हिसाबले महत्वपूर्ण प्रदेश भएको बताउनुभयो । प्रकृतिले दिएको यही सम्पदाको सही सदुपयोग गरेर समृद्धि हासिल गरिने उहाँले बताउनुभयो । प्रदेशभित्र रहेका धार्मिक एवम पर्यटकीय स्थलमा आवश्यकताअनुसार सरकारले पूर्वाधारको निर्माण गरेर जनतालाई आयआर्जनका साथै देशभित्रै रोजगारी सिर्जना गर्ने अभियानमा सरकार लागेको मन्त्री लम्सालले बताउनुभयो । मन्त्री लम्सालले भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले प्रदेश सरकारले २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाएर प्रदेशभित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने अभियान सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारले भिरकोट नगपालिकाको विकास निर्माणमा गरेको सहयोगप्रति नगरप्रमुख छाँयाराम खनालले प्रदेश सरकारलाई धन्यवाद दिँदै थप सहयोगको आशा गरेको बताउनुभयो । नगरप्रमुख खनालले भिरकोट नगरपालिकाभित्र रहेका धार्मिक एवम पर्यटकीय क्षेत्रको पहिचान गरी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू