०१ चैत २०८१

गाउँमा बिजुली पुग्दा खुशियाली

२५ भाद्र २०७६, बुधबार ११:५५ मा प्रकाशित

कावासोती, २५ भदौ  पहिलोपटक राष्ट्रिय प्रसारणको विद्युत् पुग्दा नवलपुरको पहाडी क्षेत्र द्वारीका स्थानीयवासी खुशी भएका छन् । नगरपालिकाकै वडा भए पनि अझैसम्म विद्युत् नपुग्दा यहाँका स्थानीयवासी टुकीको भरमा बस्नुपर्ने बाध्यता रहेको थियो । मध्यबिन्दु नगरपालिका–१४ मा पर्ने द्वारीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत् पहिलोपटक पुगेको हो । पहिलोपटक गाउँमा बिजुली आएको अवसरमा स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका थिए । “विद्युत् नहुँदा धेरै समस्या थियो, अन्धकारमा जीवन गुजार्दै आएका थियौँ”, द्वारीका खेमबहादुर सुनारले भन्नुभयो, “बिजुली बलेपछि गाउँनै झलमल भएको छ, सबैमा खुशियाली छाएको छ ।” बिजुली आएसँगै विद्युतीय काम गर्न धेरै सहज हुने सुनारले बताउनुभयो । विद्युत् नभएकै कारण टेलिभिजन हेर्न नपाउने, अन्य विद्युतीय काम गर्नसमेत नसकिनेजस्ता समस्या रहेकामा अब भने सहज हुने उहाँको भनाइ थियो । द्वारी, सारुडाँडा, डम्फघेरालगायतका गाउँका १२० घर विद्युत् सेवाबाट लाभान्वित भएका छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारको गरेर रु ९५ लाखको लागतमा यस क्षेत्रमा विद्युतीकरण गरिएको मध्यबिन्दु नगरपालिका–१४ का वडाध्यक्ष मीनबहादुर दर्लामी मगरले बताउनुभयो । मध्यबिन्दु–१४ अन्तर्गत पर्ने साविक मैनाघाट गाविसको भेडाबारी, पोखरडाँडा, छप्रादीका १५० घरमा आर्थिक वर्ष २०७४÷७५ मा बिजुली बाल्न सफल भएको भए पनि, साविक राकाँचुली गाविसको द्वारी, सारुडाँडा र डम्फघेरामा लामो समयको प्रयासपछि विद्युतीकरण गर्न सफल भएको वडाध्यक्ष मगरले बताउनुभयो । गण्डकी प्रदेश सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ भन्ने नीतिअनुरूप अहिले नवलपुरका पहाडी क्षेत्रमा विद्युतीकरणको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख राजीवकुमार शर्माले बताउनुभयो । नवलपुरका पहाडी क्षेत्रअन्तर्गत बुलिङटार गाउँपालिकामा अझै विद्युत् पुग्न सकेको छैन । यस्तै पहाडी क्षेत्रका धेरै बस्तीमा समेत विद्युत् पुग्न बाँकी रहेको छ । सबै क्षेत्रमा विद्युत् पु¥याउने गरी अहिले कार्य सञ्चालन भइरहेको प्रमुख शर्माले बताउनुभयो । पहाडी क्षेत्रमा विद्युतीकरणका लागि बोझापोखरीमा निर्माण गर्न लागिएको सवस्टेशन निर्माणको काम लामो समयसम्म स्थगित भएकामा अहिले यसको निर्माणको कामसमेत धमाधम चलिरहेको उहाँले बताउनुभयो । चाँडै सवस्टेशन निर्माणको काम सकेर जिल्लाका पहाडी क्षेत्रमा विद्युतीकरण गर्ने योजना रहेको प्रमुख शर्माले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

गण्डकी प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter