काठमाडौँ, १७ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिमस्ेटक) का महासचिव सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यम बनाउनु पर्नेमा जोड दिँदै बिमस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बिमस्टेक सञ्चालनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
केही समयभित्रै नेपालमा बिमस्टेकको सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि फलदायी हुने कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बिमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्छ । बिमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ । ”
उहाँले बंगालको खाडी वरिपरिका मुलुक संगठनका सदस्य रहेकाले यस क्षेत्रमा पानी जहाज सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै एकअर्कामा सम्पर्क विस्तार गर्न थप सहज हुने बताउनुभएको थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू