चितवन, २३ भदौ ः विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट गरी जिल्लामा संविधान दिवस विशेष रुपमा मनाइने भएको छ । विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो । संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार दिवस मनाउन ५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । दिवस मनाउने क्रममा असोज २, ३ र ४ गते जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय र आम नागरिकका घरमा राष्ट्रिय झण्डा फहराउँदै साँझ दीपावली गर्ने निर्णय गरिएको छ । यसका लागि आमरुपमा प्रचारप्रसार र सन्देश पु¥याउने काम भइरहेको डल्लाकोटीले जानकारी दिनुभयो । संविधान दिवसका दिन असोज ३ गते नारायणगढको लायन्सचोकबाट विभिन्न बाजागाजा र झाँकीसाथ प्रभातफेरि गरी नारायणीकला मन्दिरमा समापन गरिनेछ । यस्तै सरकारी अस्पतालमा बिरामीलाई फलफूल वितरण, राष्ट्रिय झण्डा तयार र उडाउने बेलुनको व्यवस्था गर्न उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घलाई जिम्मेवारी दिइएको छ । दिवसकै अवसरमा जिल्ला अदालत चितवन बार एसोसिएशनले अन्तरक्रिया कार्यक्रम गर्ने, जिल्ला खेलकूद विकास समिति र भरतपुर महानगरपालिकाले एउटा खेलको आयोजना गर्ने, नेपाल रेडक्रस सोसाइटीले रक्तदानको कार्यक्रम आयोजना गर्ने भएका छन् । यसैगरी भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा र शिक्षा विकास तथा समन्वय एकाइले अन्तर विद्यालय कविता, हाजिर जवाफ र वक्तृत्वकला गर्ने डल्लाकोटीले जानकारी दिनुभयो । २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू