०५ माघ २०८१

अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु

२३ भाद्र २०७६, सोमबार १२:३४ मा प्रकाशित

चितवन, २३ भदौ  यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिनुभयो । अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडाका अनुसार विभागमा पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उहाँले जानकारी दिनुभयो । बाँकी रहेका करीब १०० लाई आज पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उहाँले बताउनुभयो । अहिलेको चिकित्सकको सङ्ख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ । सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उही भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरङ्ग सेवाका मेडिकल वार्ड र क्याबिनहरु पनि ज्वरोका बिरामीले भरिएका छन् । करीब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ । जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता आइतबार साँझसम्म तीन हजार ४०० जनाको डेङ्गु परीक्षण गरिएकामा एक हजार २०६ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गुकै कारण दुई जनाको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter