०५ माघ २०८१

दुई मोटेरबल पुल निर्माण शुरु

२२ भाद्र २०७६, आईतवार ११:१० मा प्रकाशित

म्याग्दी, २२ भदौ  म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण शुरु भएको छ । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दी खोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण शुरु गरेको हो । मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल बनाउन शुरु भएको कार्यालयका इञ्जिनीयर आशिष पोखरेलले बताउनुभयो । मालिका–५ र धवलागिरि–७ को सिमाना फेदीखोलामा १८ मिटर लामो पुल निर्माण हुनलागेको हो । भारवाङको पुल निर्माणका लागि देव एण्ड सायर बिएन जेभीले रु छ करोड २४ लाखमा ठेक्का लिएको छ । फेदीखोलाको पुल बनाउन इन्द्रेणी फेवा जेभीले रु एक करोड ९३ लाखमा ठेक्का पाएको छ । गत साउनमा ठेक्का सम्झौता भएको दुई वटै पुल १८ महीनामा सम्पन्न गर्ने लक्ष्य छ । निर्धारित समयभित्रै पुल बनाइसक्ने बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले बताउनुभयो । निर्माण कम्पनीले पुलको फाउण्डेशन (जग) खन्न शुरु गरेका छन् । दुईतर्फ एक÷एक मिटर फुटपाथ हुने पुलको गाडी गुड्ने भागको चौडाइ छ मिटर हुनेछ । भारवाङघाटको पुल प्रिस्टे«स र फेदीको पुल टिबिएम प्रविधिको हो । बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम हुँदै मुनासम्म सडक निर्माण भए पनि म्याग्दी खोलामा पुल निर्माण हुन नसक्दा प्रयोगमा आउन सकेको छैन । यसको विकल्प मानिएको दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत फेदीखोलामा धवलागिरी गाउँपालिकाले अघिल्लो वर्ष अस्थायी पुल बनाएको थियो । दुई वटै पुलले धवलागिरि गाउँपालिकालाई सिधा सडक सञ्जालमा जोड्ने अध्यक्ष थमसरा पुनले बताउनुभयो । ती पुल निर्माणपछि बाह्रै महीना नियमित सवारी सञ्चालन गर्न सकिनेछ । यसैबीच पूर्वाधार विकास कार्यालयले दरवाङदेखि फेदी हँुदै धारापानी जोड्ने सडक कालोपत्रको तयारी भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर ठेक्का प्रक्रियाको तयारी गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताउनुभयो । कार्यालयले बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङसम्म दुई प्याकेजमा कालोपत्र आयोजना सञ्चालन गर्ने भएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter