०५ माघ २०८१

झोलुङ्गे पुलको निर्माण सम्पन्न

२० भाद्र २०७६, शुक्रबार ११:१३ मा प्रकाशित

म्याग्दी, २० भदौ  म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु ३५ लाख ८१ हजार ४६९ को लागतमा निर्माण भएको सो पुलबाट ५४ घरधुरीका ५९४ जनसङ्ख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष डप्रसाद शेरपुजाले बताउनुभयो । यो पुलबाट पाखापानी, कोटगाउँ, रायखोर, कुइने, भेडिखाल्टा, मल्कवाङ र खिवाङका बासिन्दालाई सुविधा पुगेको छ । पुल निर्माण भएपछि जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको वडाध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिनुभयो । मुलपानी खोलामा निर्माण भएको पुलको बिहीबार एक समारोहका बीच वडाध्यक्ष शेरपुजाले उद्घाटन गर्नुभयो । पुल निर्माणमा गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राविधिक सहयोग गरेको थियो भने टिबीएसयुले लठ्ठा र बुल्डअप ग्रिप उपलब्ध गराएको थियो । मजदुरको ज्याला, निर्माण सामग्री खरीदको भुक्तानी गाउँपालिकाबाट भएको थियो । यस वर्ष रघुगङ्गा गाउँपालिका–६ स्थित ठाडाखानीको ठूलोखोलामा पनि रु ३३ लाख ८० हजार २३६ को लागतमा ५७ मिटर लामो पुल निर्माण भएको छ । ठूलोखोलाको पुलबाट ठाडाखानीका १०३ घरधुरीका साथै धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने पर्यटक र भक्तजनलाई सहज भएको छ । यस वर्ष म्याग्दीमा १३ झोलुङ्गे पुल निर्माण भएको टिबीएसयुका इञ्जिनीयर नरबहादुर तुम्बाहाम्फेले बताउनुभयो । उहाँका अनुसार रु पाँच करोड चार लाख ८० हजार ९८७ लागतमा अन्नपूर्ण गाउँपालिकामा तीन, रघुगङ्गामा दुई, मालिकामा चार र धवलागिरि गाउँपालिकामा चार पुल निर्माण भएको हो । यसबाट तीन हजार ६८८ घरधुरीका २० हजार ४३३ जनसङ्ख्या लाभान्वित भएका मिलन म्याग्दीका सामाजिक सुपरीवेक्षक रिजन तिलीजाले बताउनुभयो । सबै पुलको लम्बाइ ८१७ दशमलव ७५ मिटर छ । धवलागिरि गाउँपालिकाको ठूलोखोला, खवाङखोला, पहिरेनीखोला र कातीखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिकाको खहरेखोला, छेरवाङखोला, पात्लेखोला र शिवरात्रिखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । मङ्गला गाउँपालिकाको काफलचौर र जुगेपानी झोलुङ्गे पुल निर्माणाधीन छन् । अन्नपूर्ण गाउँपालिकाको दोसल्ले र नारच्याङमा पल्लो घलेम्दीखोलामा पुल बनेको छ । हिस्तान र राम्चेको सिमानामा पर्ने मर्नाखोलाको पुल मर्मत भएको छ । अघिल्लो वर्ष म्याग्दीमा ११ झोलुङ्गे पुल निर्माण भएका थिए । सडक सुविधाको पहुँचदेखि टाढा रहेका दुर्गम बस्तीमा आवतजावत र ढुवानीका लागि झोलुङ्गे पुल प्रभावकारी बनेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter