०३ माघ २०८१

होटल व्यवसायीलाई आधारभूत तालीम

२० भाद्र २०७६, शुक्रबार १०:३७ मा प्रकाशित

खोटाङ, २० भदौ  पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्राविधिक सहयोग गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो । नगर भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत, सत्कार तथा सम्मान गर्नेदेखि पकाउने, पस्काउने र परिकार छनोट गर्ने तरिकाबारे तालीममा जानकारी गराइने सङ्घले जनाएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारका कारण आउने पर्यटकका लागि आकर्षक सेवासुविधा प्रदान गर्न यो तालीम उपयोगी हुने विश्वास अध्यक्ष राईको छ । नगरपालिकाले प्राथमिकताका साथ विकास तथा प्रर्वद्धन गरिरहेको ११ पर्यटकीयस्थल, मध्यपहाडी लोकमार्ग आदिका कारण जिल्लामा केही वर्षभित्रै पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । तालीमको उद्घाटन गर्दै नगरप्रमुख दीपनारायण रिजालले हलेसीमा आउने पर्यटकलाई आफ्नो नगरसम्म ल्याउन पहल भइरहेको बताउनुभयो । हलेसी आउने पर्यटकलाई आफ्नो नगरसम्म ल्याउने उद्देश्यले हलेसीमै सूचना केन्द्र राखिएको छ । हलेसी दर्शन गरिसकेपछि दिक्तेलबजार नजिकै रहेको कालिका भगवतीको दर्शन नगरेमा मनोकाङ्क्षा पूरा नहुने जनविश्वास छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter