नेपालगञ्ज, १९ भदौ वादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि समाजको हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ । “विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो । अहिले हाम्रो समुदाय इज्जतको पेशा गरेर जीवन निर्वाहमा जुटेका छन्”, नेपालगञ्जमा खुद्रा पसल सञ्चालन गर्दै आएकी एक वादी महिलाले भनिन्, “यो समुदाय अहिले क्रमशः इज्जत र सम्मान प्राप्तिको बाटोको अग्रसर हुँदै गएको छ ।” विगतमा होच्याइएका र थिचोमिचोमा परेका बाँकेलगायत पश्चिम नेपालका वादी समुदायका महिला र पुरुषको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको पाइन्छ । यसरी यो समुदायको सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएपछि समाजले पनि विस्तारै उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको छ, नेपालगञ्ज उपमहानगरपालिका–५ कि महिला सदस्य मञ्जु नेपाली वादीको भनाइ छ । “अरु समुदाय जस्तै वादी प्नि इज्जतका साथ समाजमा बाच्न चाहन्छन्, त्यसका लागि यो समुदायलाई हेर्ने दृष्टिकोण अव सकारात्मक बन्नुपर्छ ।” वादी समुदायका महिला अहिले व्यक्तिगत तथा समूहगत रुपमा सानादेखि ठूला स्वरोजगार व्यवसायमा संलग्न भएको पाइन्छ । विगतमा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय र लुमन्ती संस्था र विभिन्न सरकारी निकायबाट सीपमूलक तालीम लिएका सयौ महिला नेपालगञ्जमा व्यवसायमूलक पेशामा संलग्न भएका छन् । समाजले पनि अहिले उनीहरुलाई हेय र नकारात्मक दृष्टिकोणले व्यवहार गरेको पाइदैन् । यो समुदायका महिला मात्र होइन, पुरुष पनि रोजगारमूलक काममा लागेका छन्, धेरैजसो पुरुष कामका लागि विदेशिएका छन् । सीप सिक्दै रोजगार र स्वरोजगारको काममा महिलाको पनि संलग्नता बढदै गएको छ । बाँके मात्र होइन, प्रदेश नं. ५, ७ र कर्णाली प्रदेशका सबै वादी समुदायका महिला इज्जतका साथ सरकारी तथा गैरसरकारी निकायमा नोकरी, स्वरोजगार लगायतका सीपमा संलग्न छन् । कला क्षेत्रमा पनि यो समुदायको उल्लेख्य सहभागिता रहेको छ । नेपालगञ्जको विशेषतः गगनगञ्जको भगवान तलाउ क्षेत्रमा बसोवास गर्ने वादी समुदायका सबै घरपरिवारका सदस्य कुनै न कुनै सीपमा संलग्न भएको पाइन्छ । उनीहरुका सन्तान पनि विद्यालय र कलेज जाने गरेका छन् । बाँके जिल्लाको अगैया, कोहलपुर क्षेत्रमा पनि वादी समुदायका महिला स्वरोजगार व्यवसायमा लागेका छन् । त्यस क्षेत्रका वादी महिलाले होटल, खुद्रा पसल र कृषि पेशा अङ्गालेको पाइन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका वादी समुदायका लागि छुट्टै कार्यक्रम भने योजनामा पारेको छैन । “सामाजिक विकास योजनामा वादी समुदायलाई समेट्न भने पनि त्यो सम्भव भएन”, महिला सदस्य मञ्जुको दुःखेसो छ । वादी समुदाय पनि दलितभित्रै पर्ने भएकाले उनीहरुका लागि छुट्टै कार्यक्रम नराखिएको हो, तर पनि दलितको कार्यक्रममा यो समुदायका महिला, पुरुष सबैलाई नेपालगञ्ज उमहानगरपालिकाले समेटेको नगरउपप्रमुख उमा थापामगरको भनाइ छ । “नेपाली समाजले पनि वादी समुदायको विगत क्रमशः विर्सदै गएका छन् । समयको कुनै कालखण्डमा बाध्यतामा पारेर शोषणमा पारिएका यो समुदायप्रति अहिले सबैको सकारात्मक लगाव छ । वादीहरुले पनि अव आप्mनो विगत विर्सिएर सभ्यसमाज निर्माणमा योगदान दिन सक्छन्”, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का प्रदेश नं. ५ का प्रमुख भोला महतले भन्नुभयो । यो समुदायका लागि अहिले पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन हुने गर्दछन् । तर, विगतको जस्तो हेपिएको, थिचोमिचो र शोषणमा परेको तथा समाजले दुःख दिएको विषयले भने प्रवेश पाउँदैन् । बरु, कार्यक्रमभित्र रोजगार, स्वरोजगार, आर्थिक सवलीकरण, राजनीतिमा सहभागितालगायतका विषय समेटिएका हुन्छन् । प्रमुख महतले भन्नुभयो,“विगत सम्झेर अव वादी समुदाय रुने हैन, वर्तमानमा रमाउँदै राम्रो भविष्य खोज्ने हो ।”
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू