विराटनगर, १५ भदौ विराटनगर आँखा अस्पतालले नगरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टिदोष हटाउन आजदेखि सम्पूर्ण सुविधायुक्त ‘भिजन भ्यान’ गाडीभित्र नै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । अरविश इन्टरनेशनलले रिच प्रोग्रामअन्तर्गत रु ३२ लाख ७२ हजार र नेपाल नेत्र ज्योति सङ्घ मोरङको रु १० लाख गरी रु ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका सम्पूर्ण विद्यार्थीको आँखा परीक्षण गर्नाका साथै चस्मासमेत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । उक्त भ्यानमामा दृष्टि परीक्षण उपकरण, स्लिट लेम्प, टोनोमिटर, फनडस जाँच तथा तुरुन्त चस्मा तयार व्यवस्था गरिएको छ । वातानुकूलित भ्यानको अगाडिपट्टि टेलिभिजन राखी विभिन्न जनचेतना जागृत गराउने सामग्रीसमेत प्रदर्शन गरिने भएको छ । विद्यार्थीहरुको परीक्षणपश्चात् शल्य चिकित्सा गर्नुपर्ने भएमा विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था गरिएको छ । भ्यान सञ्चालनले आगामी तीन वर्षभित्र तीन लाख विद्यालयका बालबालिकाको आँखा परीक्षण गर्नाका साथै चस्मा वितरण गरिने लक्ष्य लिइएको छ । विराटनगर उपमहानगरपालिका प्रमुख भीम पराजुलीले गायत्री संस्कृत माविमा आज भ्यानको उद्घाटन कार्यक्रममा आर्थिकरूपमा कमजोर रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई सेवा पु¥याउन शुरु गरिएको सेवाप्रति हर्ष प्रकट गर्नुभयो । उहाँले महानगरपालिकाले गत वर्षदेखि नगरमा रहेका आँखा अस्पतालसँग समन्वय गरी मोतियाविन्दुरहित अभियान सञ्चालन गरी निःशुल्करूपमा नगरवासीलाई शल्यक्रिया सेवा उपलब्ध गराएको जानकारी दिनुभयो । पूर्वाञ्चल आँखा उपचार समन्वय समितिका संयोजक सुधीर ठाकुरले विगत ३६ वर्षको अवधिमा लहान र विराटनगर आँखा अस्पतालले ८० लाख जनताको आँखा परीक्षण र १४ लाखको शल्यक्रिया गरेको जानकारी दिनुभयो । अरविश इन्टरनेशल बेलायतका डेबिट ब्रुस फ्रुस्टेन स्थलगतरूपमा विद्यालयमा विद्यार्थीको दृष्टिदोष परीक्षण भ्यानको सुविधायुक्तले प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामुकमार पोखरेल, सदस्य पद्मनारायण चौधरी र अरविश इन्टरनेशलका भारत निर्देशक ऋषि बोहराले नियमित आँखा परीक्षणले बालबालिकामा दृष्टिदोष समस्या समाधानमा सहज हुने बताउनुभयो । विद्यार्थीहरुमा हुने दृष्टिदोषमा सामुदायिक विद्यालयमा तीन प्रतिशत रहेको छ भने संस्थागततर्फ नौ प्रतिशत रहेको सोही अवसरमा बताइयो । विराटनगर आँखा अस्पतालले सन् २०१८ मा पाँच लाख ५० हजार सर्वसाधारणको आँखा परीक्षण गर्नाका साथै ७१ हजारको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । विद्यालयमा अध्ययनरत तीन सय बालबालिकाको आँखा आज परीक्षण गरिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू