१० माघ २०८१

अख्तियारी प्राप्त नहँुदा शिक्षाका काम प्रभावित

१७ जेष्ठ २०७५, बिहीबार १०:२९ मा प्रकाशित

जाजरकोट, १७ जेठ (रासस) ः जिल्ला शिक्षा कार्यालय खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा शिक्षाका कामकाज प्रभावित भएका छन् ।

समयमा अख्तियारी नआउँदा जाजरकोटसहित देशैभरका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन—२०७४ अनुसार २०७४ चैत २८ गते पछि जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा परिणत भएपछि साविकका जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन भइरहेका आव ०७४÷०७५ का कार्यक्रम अख्तियारी नहँुदा प्रभावित भएका हुन् ।

रकम निकासा नहुँदा विद्यालय भवनको काम अघि बढाउन समस्या भएको भेरी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद सहनीले बताउनुभयो । कार्यालयमा धाउन थालेको महिना दिन भइसक्यो तर अहिलेसम्म अख्तियारी आएको छैन भन्दै झुलाउने काम भएको छ उहाँले भन्नुभयो ।

विद्यालयका भौतिक निर्माणका कार्यक्रम विद्यालयले निर्माण गरिरहेको अवस्थामा किस्तागत रुपमा जाने रकमको निकासा दिने अख्तियारी शिक्षा विकास तथा समन्वय एकाइलाई नहँुदा विद्यालयको भौतिक निर्माण तथा अन्य शैक्षिक कार्यक्रम प्रभावित भएका छन् ।

एकाईले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षले अख्तियारी कहिले आउँछ भनेर सोधिरहेका भएपनि जवाफ दिन समस्या भएको बताएको छ । समयमा निकासा नहुँदा जिल्लामा आएको बजेट फ्रिज हुनसक्ने सम्भावना हुन्छ, अख्तियारीका कारण विद्यार्थी भर्ना अभियान, जिल्लास्तरीय परीक्षा सञ्चालन खर्च, बहुकक्षा शिक्षा अनुदान, नमूना विद्यालय अनुदान, पुस्तकालय अनुदान, मर्मतसम्भार लगायतका अनुदान रोकिएका एकाइले बताएको छ ।

पुरानो जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा रुपान्तरण भइसकेकाले रुपान्तरित एकाइमा अख्तियारी दिन नमिल्ने कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटका कोष नियन्त्रक यामबहादुर थापाले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय जिल्ला प्रशासनको मातहतमा गई शिक्षा विकास तथा समन्वय एकाइमा रुपान्तरित भएपछि संघीय शिक्षा मन्त्रालय र शिक्षा विभागले अख्तियारी दिनुपर्नेमा अहिलेसम्म नआएको कोष नियन्त्रक थापाले जानकारी दिनुभयो ।

जाजरकोटमा मात्र अन्तिम चौमासिकको रु आठ करोडभन्दा बढी रकमको अख्तियारी आउन बाँकी रहेको छ । समयमा अख्तियारी नआउँदा भौतिक पूर्वाधारका कामकाज प्रभावित हुने देखिएको स्थानीयको भनाइ छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter