रुपन्देही, १२ भदौ प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सकारात्मक सन्देश प्रवाह गरी उल्लासमय वातावरणमा तीज मनाउन आग्रह गर्नुभएको छ । उहाँले तीजप्रति आस्था राख्ने सबैले खुशियालीपूर्वक तीज मनाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा मन्त्री बरालले पछिल्ला वर्षमा भड्किलो बनेको तीज यो वर्ष सभ्य बनेको धारणा राख्नुभयो । “तीज नेपाली महिलाहरुको रमाइलो पर्व हो । यो पर्वमा आस्था राख्ने सबै रमाउन सक्नुपछ”, उहाँले भन्नुभयो । मन्त्री बरालले तीजमार्फत सकारात्मक सन्देश प्रवाह गरी समाजलाई सकारात्मक दिशामा लैजानुपर्ने बताउनुभयो । अधिवक्ता मीना पाण्डेले सामाजिक परिवर्तनमा तीजको भूमिका महत्वपूर्ण रहेकाले चेतना फैलाउने पर्वका रुपमा यसलाई लिनुपर्ने बताउनुभयो । उहाँले महिलाहरुको स्वतन्त्रताको प्रतीकका रुपमा रहेको तीजलाई हेर्ने दृष्टिकोण आ–आफ्नै रहे पनि सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सहायक प्रमुख रीता रेग्मीले संस्कृतिको संरक्षण गर्दै विकृति–विसङ्गतिलाई हटाएर तीज मनाउन आवश्यक रहेको धारणा राख्नुभयो । सञ्चारिका समूह प्रदेश ५ का महासचिव अमृता अनमोल र सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले प्रशासनले होटल पार्टी प्यालेसमा तीज मनाउन नपाउने भन्दै विज्ञप्ति जारी गर्नुले आफूखुशी चाड मनाउने अधिकारको हनन भएको टिप्पणी गर्नुभयो । रिपोर्टर्स क्लबका अध्यक्ष रामकुमार क्षेत्री, क्रियाशील महिला पत्रकार समूह रुपन्देहीका अध्यक्ष भगवती पाण्डे, पत्रकार मीना ढकाल, कपिल ज्ञवाली लगायतले चाड मनाउनसमेत अङ्कुश लगाउनु गलत भएको बताउँदै सबैले स्वतन्त्रतापूर्वक चाड मनाउन पाउने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू