तनहुँ, १० भदौ व्यास नगरपालिका–३ देउराली नगरका महिला चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा (चामलको पिठोबाट बनाइने परिकार) बनाउन व्यस्त छन् । चाडपर्वको समयमा झिलिङ्गा बनाउन नभ्याइने भएकाले असार–साउनदेखि नै झिलिङ्गा बनाउन थालिन्छ । विसं २०७१ मा देउराली आमा समूहका पाँच सदस्य मिलेर रु एक लाख २० हजार सङ्कलन गरी झिलिङ्गा उत्पादन गर्ने कार्यलाई अहिलेसम्म निरन्तरता दिँदै आएको सञ्चालक सदस्य लीला थापाले जानकारी दिनुभयो । दशैँ तिहारको समयमा बढी बिक्री हुने र त्यतिबेला उत्पादन गर्न नभ्याइने भएकाले अहिलेबाट नै बनाउन शुरु गरिएको उहाँले बताउनुभयो । “खेर गइरहेको समयको सदुपयोग गरी फुर्सदको समयमा झिलिङ्गा बनाउने गरेका छौँ”, उहाँले भन्नुभयो । पछिल्लो समय यस क्षेत्रका महिला आत्मनिर्भर बन्दै गएका छन् । गत वर्ष खर्च कटाएर एक सदस्यको भागमा रु ५० हजार हात परेको उहाँले जानकारी दिनुभयो । कतै पनि रोजगारीको अवसर नपाएपछि देउरालीनगरका पाँच महिला मिलेर सामूहिक पेशा थालेको उहाँले बताउनुभयो । बीस हजारभन्दा बढी झिलिङ्गा भण्डारण गरी राखेको अर्का सञ्चालक सदस्य शान्ताकुमारी श्रेष्ठले बताउनुभयो । “बिहानको ४ः०० बजे नै पाँचै सदस्य झिलिङ्गा बनाउन आउने गरेका छौँ”, उहाँले भन्नुभयो, “कोही झिलिङ्गा बनाउने, सुकाउने तथा कोही भने व्यवस्थापन गर्नेलगायतका काम बाँडेर गर्ने गरिएको छ ।” चाडपर्वबाहेक अन्य समयमा पनि मानिस भातखुवाइ, विवाह, व्रतबन्ध, कोशेली लान र केटाकेटीलाई खाजाका रूपमा प्रयोग गर्न झिलिङ्गा लिन आउने गरेका छन् । प्रतिगोटा रु १२ देखि ५० सम्मको झिलिङ्गा बिक्री गर्ने गरेको सदस्य श्रेष्ठले बताउनुभयो । गत वर्ष दुई महीनामा रु पाँच लाखभन्दा बढीको झिलिङ्गा बिक्री गरेको उहाँले जानकारी दिनुभयो । उत्पादन गरेका झिलिङ्गा वीरगञ्ज, चितवन, नेपालगञ्ज, धादिङ र काठमाडौँलगायतका क्षेत्रबाट व्यापारी लिन देउरालीनगर आउने गरेका छन् । लोप हुने अवस्थामा पुगेको झिलिङ्गाको संरक्षण गर्दै महिलाले आयआर्जनको स्रोत बनाएर समाजमा उदाहरणीय काम गरेका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू