चितवन, २६ साउन देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो । मल्लका अनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शङ्कास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको उहाँले जानकारी दिनुभयो । अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना शङ्कास्पद देखिएपछि परिवारका तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेकाहरु शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्ति रहेका छन् । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । जन्मिएका दुईमध्ये ठूलो एक किलो २०० ग्रामको शिशुको निधन भएको हो भने ८०० ग्रामको शिशु जीवित रहेको मल्लले बताउनुभयो । घटना शुक्रबार भएको हो । बिहीबार ती बच्चा जन्मिएका थिए । गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू