काठमाडौँ, १ साउन ,, गरीब तथा अनाथ बालबालिकाको उद्धार गरी आश्रय दिँदै आएको सेवक नेपाल संस्थाले आफ्नो अभियानलाई वृद्धि गरी ६० जिल्लामा पु¥याएको छ । दक्षिण कोरियामा शुरु गरेको सो अभियानमा नेपालका ६० जिल्लाका ११० अभियन्ताले अनाथ तथा असहाय अवस्थामा रहेका बालबालिकालाई सडकबाट उद्धार गर्ने तथा देशका विभिन्न विद्यालयमा अध्ययन गरिरहेका त्यस्ता अनाथ बालबालिकालाई आर्थिक तथा भौतिकरुपमा सहयोग गर्दै आएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सेवक नेपाल संस्थाका अध्यक्ष गङ्गादेवी पौडेलले आफनो संस्थाले गरीब तथा असहाय व्यक्तिको संरक्षण गर्नका लागि काभ्रेमा छ रोपनी ११ आना जग्गा खरीद गरी बाल आश्रम निर्माण कार्य यही असोजबाट शुरु गर्ने जानकारी दिनुभयो । सो आश्रम भवन निर्माण सम्पन्न भएपछि १५० भन्दा बढी आश्रयविहीन सडक बालबालिकाले आश्रय पाउने बताइएको छ । सो संस्थाले ओखलढुङ्गा, काभ्रे, म्याग्दी, रामेछाप, इलाम र दोलखाका विभिन्न कक्षामा अध्ययनरत २० बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराएको, चितवनको कन्दा लगायतका विभिन्न स्थलमा विपन्न छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको तथा भूकम्प, बाढीपहिरोजस्ता दैविप्रकोपमा परेका रामेछाप, ओखलढुङ्गा, सुनसरीमा राहत कार्यक्रम सञ्चालन गरेको बताएको छ । सो संस्थाका अभियानकर्मी काशीनाथ रिमालले नेपालमा परिवारबाट तिरस्कृत भएको वा बाबुआमा गुमाई असहाय भएकालाई लालनपालन तथा शिक्षादीक्षा दिन सकेमा भविष्यमा देशका लागि सेवा गर्न सक्ने भएकाले यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू