काठमाडौँ, ३० असार ,, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्नुभएको हो । साथै उहाँले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढङ्गले गरिरहेको छ, त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले काङ्ग्रेसले गर्नेसमेत जानकारी पनि गराउनुभएको छ । केही दिनयता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति यसअघि काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले यही असार २७ गते दुःख व्यक्त गरेको थियो । ‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्णरूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँ । विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो’, विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने छ दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू