स्याङ्जा, २६ असार ,, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा स्याङ्जा र गुल्मी जिल्लालाई जोड्न जलविद्युत् आयोजनाको ड्यामभन्दा केही तल कालीगण्डकी नदीमा निर्माण गरिएको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । जलविद्युत् आयोजना निर्माणका क्रममा निर्माण गरिएको सो बेलिब्रिज आयोजना निर्माण भएर विद्युत् सञ्चालनमा आइसकेपछि लामो समयसम्म मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको हो । पुलमा सुरक्षाका लागि बनाइएको बारसमेत ठाउँठाउँमा भत्किएका छन् भने पुल खिया लागेर जीर्ण अवस्थामा पुगेको छ । कालीगण्डकी गाउँपालिका– ६ का विष्णुप्रसाद न्यौपानेले पुल मर्मतसम्भार नहुँदा जोखिम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनेसँगै स्याङ्जाको पश्चिमी भेग मिर्मी, चण्डीभञ्ज्यङ, आलमदेवीलगायत बासिन्दाको गुल्मीको हर्मीचौर पूर्तिघाटका साथै पर्वत र बाग्लुङवासीसँग सिधा सम्पर्क हुँदै आएको थियो ।” गुल्मी जिल्लास्थित कालिगण्डकी गाउँपालिका– १ हर्मीचौरका धुव्र पाण्डेले सो आयोजना निर्माण अवधिमा आयोजनाले नै बनाएको पुल लामो समयसम्म मर्मत नहुँदा स्थानीयवासी चिन्तित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तीन जिल्लाका बासिन्दा आवत जावत गर्ने सो पुलका बारेमा बेलाबखतमा प्रशासनमा जानकारी गराउँदा पनि अझैसम्म सुनुवाइ भएको छैन।” कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी र बाग्लुङ सडकखण्डमा जोडिने उक्त पुल मर्मत भए स्याङ्जा जिल्लालाई पनि कोरला नाकासँग सम्पर्क गर्न सहज हुनाका साथै मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकका लागिसमेत छोटो बाटो हुने स्थानीयवासीको भनाइ थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू