डोटी, २६ असार ,, डोटीको बडीकेदार गाउँपालिका–२ को छेडा गाउँ हिजोआज सुनसान छ । पहिलेको बर्छैन गाविसअन्तर्गत पर्ने यो गाउँमा राम्रै बसोबास थियो । अहिले गाउँमा न मान्छेको चहलपहल हुन्छ न त कसैको आवतजावत नै । विसं २०५९ वैशाख १९ गते उक्त गाउँमा तत्कालीन शाही नेपाली सेना र माओवादी विद्रोहीबीच भिडन्त भएर केही स्थानीयवासी मारिए । बारीमा काम गरिरहेका उनीहरुको अनाहकमा ज्यान गएपछि बाँचेकाहरुले उक्त गाउँ छोडेका कारण सुनसान भएको हो । उक्त घटना घटेको १७ वर्ष भयो । विसं २०५८ फागुन ४ गते अछाम जिल्ला सदरमुकाम हानेपछि माओवादी नेता कार्यकर्ता छेडा गाउँ जम्मा हुने क्रममै थिए । उक्त सुइँको नेपाली सेना पायो । विसं २०५९ वैशाख १९ गते एकाएक गोली चल्न शुरु भयो । घटनामा माओवादीतर्फ कति हताहत भए थाहा भएन । स्थानीयवासी उक्त घटनामा १०० को हाराहारीमा माओवादी मारिएको अनुमान गर्छन् । “माओवादीले त यसरी सेना आएर एकाएक आक्रमण गर्ला भन्ने सोचेकै थिएनन्,” स्थानीयवासी रोजबहादुर कलेलले भन्नुभयो – “माओवादी त सुरक्षित बसेको महशुस गर्दै थिए । सेनाले आएर एकाएक गोली हाने । माओवादीले तयारी समेत गर्न पाएनन् । कति मरे मरे, अत्तो पत्तो छैन ।” सेना गइसकेपछि माओवादी कार्यकर्ताहरु फेरि आएर आफ्ना घाइते कार्यकर्ताहरुलाई बोकेर लगेको र मृतकहरुलाई हतार हतारमा गाडेको कलेलले बताउनुभयो । “लासहरु राम्रोसँग गाडिएका थिएनन्, पछि स्याल र कुकुरले तानेर निकाले,” कलेलले भन्नुभयो – “लामो समयसम्म गाउँ नै गन्हाइरह्यो । स्थानीयवासीलाई बस्न समेत समस्या भयो ।” अहिले पनि मान्छेका हड्डीहरु देखिने गरेको गाउँलेहरु बताउँछन् । घटना अघि १२ परिवार बस्थे छेडा गाउँमा । घटनापछि त्रसित भएका कतिपय तराईतिर बसाइ सरेर गएको स्थानियवासी लालबहादुर मन्नीले बताउनुभयो । उहाँका अनुसार उक्त गाउँमा अहिले जम्मा तीन परिवार मात्रै छन् । अहिले उक्त गाउँ करीब करीब खण्डहर जस्तै बनेको छ । खेतीयोग्य जमिन बाँझा भएका कारण जताततै रुख र बोट बिरुवा मात्रै उम्र्रिएका छन् । बिहान करीब ११ बजे लहरैका खेतमा गोरु जोतेर धान छर्दै गरेका व्यक्तिहरुलाई माओवादीको आशङ्कामा सेनाले समात्यो । उक्त घटनामा माओवादीको आरोपमा मारिनेमा ७० वर्षीय रणवहादुर चन्द र ६५ वर्षीय दलबहादुर चन्द पनि थिए । गोरु किन्न भनेर आएका बर्छैन पुड्केपानी गाउँका डबलबहादुर सार्कीले पनि सोही घटनामा मारिनु प¥यो । “उनी गोरु किन्न आएका थिए, गोरुको मोलमोलाइ भइरहेको थियो,” त्यो दिन सम्झदै अर्का स्थानीयवासी चक्र मटेनीले भन्नुभयो – “त्यही बेला सेनाले आएर हामीलाई समात्यो ।” सेनाको गोलीबाट २५ वर्षीय लालबहादुर चन्द र १८ वर्षीय टेकबहादुर चन्दको प्राणान्त भयो । हलो जोत्दै गफिँदै गरेका छ जना स्थानीयवासीमा छेडा गाउँकै चक्र मटेली पनि थिए । अन्य पाँच जना जस्तै उहाँलाई पनि सेनाले लामबद्ध हुन लगायो । “ल तिमिहरु भाग, ज्यान बचाउ भनेका हुन्, सेनाले,” चक्र भन्नुहुन्छ – “तर हामीले ‘हामी माओवादी होइनौं यही गाउँका मान्छे हौं, भागेर कहाँ जाउँ’ भन्दा आमा छोएर गाली गर्दै गोली कुटे ।” हात, मुख र घाँटीमा गोली लागेका चक्रले त्यसपछि के भयो भन्ने आफूले थाहा नपाएको बताउनुभयो । राति करीब ८ बजे होस खुलेपछि आफू नजीकैको दुम्सीको ओडारमा गएर बसेको उहाँ सम्झनुुहुन्छ । उपचारका क्रममा करीब दुई लाख रुपैयाँ खर्च भएको चक्रको भनाइ छ । “मैले कतैबाट कुनै राहत पाइनँ,” उहाँले भन्नुभयो – “पटक पटक गाविस र जिल्ला धाएँ तर, कसैले मेरो पीडा सुनेन ।” छेडा घटनाको कारण त्रासले भागेका स्थानीय बासिन्दाका घरहरु अहिले धमाधम भत्किन थालेका छन् । गाउँमा सन्नाटा छ । खेतीपाती पनि कसैले गर्दैन । पूरै गाउँ जङ्गलै जङ्गलले ढाकेको छ । छेडा घटनामा मारिएका लालबहादुर चन्दकी पत्नी निर्मला चन्द घटनापछि गाउँ छोडेर खडेउलीमा बस्दै आएकी थिइन् । उनी बूढी सासूआमा र एक वर्षको छोरोसँगै बस्दै आएकी थिएन् । गस्तीमा गएका शाही सेनाले माओवादी लुकेको आरोपमा निर्मलाको घरमा घेरा हाल्यो । निर्मलालाई ढोका खोलेर बाहिर आउन भनियो तर सेनाकै गोलीबाट श्रीमान् गुमाएकी निर्मलाले बाहिर आउने हिम्मत गरिनन् । “निर्मला घरभित्रै थिइन्, उनी, सानो बाबु पनि सँगै थियो,” चक्र भन्नुहुन्छ – “उनले ढोका नखोलेपछि सेनाले झ्यालबाट गोली हान्यो र उनको मृत्यु भयो ।” विसं २०६१ साल असोजमा भएको यो घटनामा छोरा प्रकाश पनि घाइते भए । उनलाई सेनाले उपचारका लागि काठमाडौं लग्यो । हाल उनी शहीद स्मृति विद्यालय सुर्खेतमा अध्ययन गरिरहेको चक्रले बताउनुभयो । घरमा सहारा दिने कोही नभएपछि निर्मलाका छोरा सुर्खेतमा पढिरहेको स्थानियवासी बताउँछन् । निर्मला लगायतका छेडा घटना पीडितलाई कहिले र कसले राहत दिने भन्ने कुरो अन्योलमै छ । स्थानीयवासी मुना मटेनीले भन्नुभयो – “आफू सानै उमेरको भएकाले पहिले गोली चल्दा त मन्दिर भत्काउन लागेका हुन् भन्ने सोचेकी थिएँ तर, जब अन्धाधुन्द गोली चल्न थाल्यो, गाउँलेको भागाभाग भयो, त्यसपछि मान्छे मार्दै रहेछन् भनेर थाहा पाएँ ।” प्रशस्त मात्रामा उब्जनी हुने र सम्म परेको जमीन भएको उक्त ठाउँमा पुनः बस्ती बसाल्न पहल गरिनुपर्ने स्थानीयवासी बताउँछन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू