दमौली, २९ जेठ ,, तनहँु निर्वाचन क्षेत्र नं १ मा खानेपानी आयोजना निर्माणका लागि सङ्घीय सरकारले रु साढे नौ करोड बजेट विनियोजन गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने गरी विभिन्न आयोजनाका लागि रु नौ करोड पचास लाख बजेट विनियोजन गरेको हो । क्षेत्र नं १ अन्तर्गत विभिन्न आठ योजनाका लागि मन्त्रालयले बजेट विनियोजन गरेको सांसद कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डुम्रे खानेपानी तथा सरसफाइ आयोजनाका लागि रु दुई करोड, आँबुखैरेनी साना शहरी खानेपानी योजनाका लागि रु दुई करोड ५० लाख, बन्दीपुर वृहत पम्पिङ खानेपानी योजनाका लागि रु एक करोड र भानु नगरपालिका वृहत पम्पिङ खानेपानी योजनाका लागि रु एक करोड विनियोजन गरिएको छ । त्यस्तै बन्दीपुर ढल निर्माण तथा प्रशोधन योजनाका लागि रु एक करोड, व्यास ढल निर्माण तथा प्रशोधनका लागि रु एक करोड, भादगाउँ सह–लगानी खानेपानी तथा सरसफाइ योजनाका लागि रु एक करोड र मिर्लुङ सतिस्वाँरा वृहत खानेपानी योजनाका लागि रु एक करोड विनियोजन गरिएको सांसद श्रेष्ठले जानकारी दिनुभयो । दुई कृषि सहकारी गाभिए व्यास नगरपालिका–९ गजौडेस्थित दुई कृषि सहकारी संस्था एक आपसमा गाभिएका छन् । सुनौलो भविष्य कृषि सहकारी संस्था र नयाँ गोरेटो कृषि सहकारी संस्था एक आपसमा गाभिएका हुन् । एकीकृत सहकारी संस्थाको साधारणसभाबाट सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था गठन गरिएको छ । सोको अध्यक्षमा विष्णु अधिकारी चयन हुनुभएको छ । समान उद्देश्य र समान भूगोलका सहकारी संस्थाहरु एकीकरण अभियानलाई सघाउन पटक–पटकको छलफल र समझारीपछि एकीकरण प्रक्रिया टुङ्गिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । ‘एक घर एक शेयर, एक सहकारी एक उत्पादन’ मार्फत कृषि र पशुजन्य वस्तुको उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउने सहकारीको मूल उद्देश्य रहेको बताइएको छ । विसं २०६८ मा स्थापना भएको सुनौलो भविष्य र विसं २०६९ मा स्थापना भएको नयाँ गोरेटोले द्रतगतिमा काम गर्न नसकेको अवस्थामा आर्थिक रुपमा सबल हुन र सहकारीका कार्यहरु अझ विस्तार गर्न एकीकरणको आवश्यकता महसुस गरी एकीकरण गरिएको सचिव राजु आचार्यले जानकारी दिनुभयो । पीडित परिवारलाई राहत चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको भानु नगरपालिका–२ भकुण्डोथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई सिलाई कटाई तालीमका प्रशिक्षार्थीले राहत प्रदान गरेका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सोही वडास्थित नमूना सिलाई कटिङ प्रशिक्षण केन्द्रले नारेश्वरटारमा सञ्चालन गरेको सिलाई कटाई तालीममा सहभागी प्रशिक्षार्थीले रकम सङ्कलन गरेर पीडित परिवारलाई सहयोग गरेका हुन् । तालीमका ४३ प्रशिक्षार्थीबाट सङ्कलन भएको रु दश हजार तीन सय ७० स्वर्गीय बालिकाका आमा दुर्गा अधिकारीलाई हस्तान्तरण गरिएको छ । पीडित परिवारको आर्थिक अवस्था दयनीय रहेकाले प्रशिक्षार्थीबाट स्वस्फूर्त रुपमा सङ्कलन गरी राहत रकम प्रदान गरिएको तालीमका प्रशिक्षक सीता अधिकारीले जानकारी दिनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू