स्याङ्जा, २९ जेठ ,, कुनै बेला खानेपानीको खोजीमा घण्टौँसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका ३ चिसापानीका बासिन्दाले अब भने मुक्ति पाएका छन् । । एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर घरमा धारा जडान भएपछि यहाँका सर्वसाधारणमा खुशी छाएको छ । गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको संयुक्त लगानी तथा प्राविधिक सहयोगमा सबैका घर घरमा खानेपानीको धारा जडान भएपछि बासिन्दाले सरसफाइदेखि करेसाबारीसम्म पानी प्रयोग गरेका छन् । हरिनाश –३ चिसापानीकी रीता गुरुङले पहिला खानेपानी लिनका लागि धेरै टाढा जानु परेकामा अहिले घरमै पानी आएपछि खुशी लागेको बताउनुभयो । उहाँ भन्नुहुन्छ,“ पहिला पहिल पानीको लागि एक घण्टा लगाएर कुवा, खोल्सा र सार्वजनिक धारामा धाउनुपथ्र्यो, अहिले घरघरमै धारा भएपछि घरको काममा समेत सहज भएको छ, पानीको लागि खर्च गर्ने समयमा अरु काम गर्न पाइएको छ ”, उहाँले भन्नुभयो । घरघरमा पानी आएपछि गाउँवासीले अहिले सरसफाइ मात्र नभएर तरकारीसमेत लगाउन थालेको उहाँ बताउनुहुन्छ । गाउँपालिकाको रु ३२ लाख र परियोजनाकोे रु ५८ लाख आर्थिक तथा प्राविधिक सहयोग र बाँकी स्थानीयवासीको जनश्रमदान गरी रु एक करोड २६ लाखको लागतमा निर्माण भएको योजनामा स्थानीयवासीले ९३ दिन जनश्रमदान गरेका थिए । चिसापानीका २०२ घरधुरीका एक हजार १५८ जनसङ्ख्या सो पानीबाट प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताउनुभयो । गाउँभन्दा ६ किमी पर रिपसुंवारा मूलबाट पानी ल्याएर चार टयाङ्की र चार च्याम्बरको सहायताले प्रत्येक घरमा पानीको धारा जडान गरिएको हो । स्थानीय कालिका प्राथमिक विद्यालय र वडा कार्यालयमा समेत सो पानी जडान गरिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू