०३ माघ २०८१

पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक

२६ जेष्ठ २०७६, आईतवार १५:२६ मा प्रकाशित

पोखरा, २६ जेठ   ,,  पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएकोे छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो । पशुको स्वास्थ्य परीक्षणमा देखिएको जुका, चुर्नालगायत विभिन्न खालका परजीवीका कारण उत्पादनमा कमी आउनाका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङले कृषकहरूलाई पशुका लागि आवश्यक औषधि वितरण गर्र्दै गोठदेखि ओठसम्म शुद्धताको खाँचो आवश्यक रहेकामा जोड दिनुभयो । व्यावसायिक बाख्रापालनको पकेट क्षेत्रको रुपमा रहेको पोखराको विकट मौजा गाउँका किसानका गोठमा देखिएको पशु स्वास्थ्यको अवस्था र उपचारमा सहयोग गर्न प्राविधिक टोलीलाई आग्रह गर्दै उहाँले त्यसका लागि महानगर र वडास्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मौजा बाख्रापालन कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले गाउँबाट वार्षिक रु ७० लाख बराबरको खसी र बोका बिक्री हुँदै आएको जानकारी गराउँदै सरकारबाट पाउने अनुदान वास्तविक किसानले सुलभ रूपमा पाउनुपर्ने माग गर्नुभयो । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घ नेपालका महासचिव सुरेशकुमार श्रेष्ठले उत्पादनमा वृद्धि र कृषकको समृद्धिका लागि ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा पशु तथा कृषि प्राविधिकको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । शिविरमा पशुको शारीरिक विकास र परजीवी नियन्त्रणका साथै बाँझोपनबाट जोगाउने खालका रु ४० हजार मूल्य बराबरका विभिन्न औषधि कृषकलाई निःशुल्क वितरण गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter