लस एन्जलस, १७ बैशाख ,, अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन योजना बनाएको प्रहरीको भनाई छ ।
अफगानिस्तानमा तैनाथ रहेर सेवा गरिसकेका २६ वर्षीय मार्क स्टिभेन डोमिङ्गोले हालैमात्र धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका थिए । गतसाता लस एन्जलसको लङ बिचमा अतिवादी गोरा समुदायको र्यालीमा आक्रमण गर्ने योजना बनाएको मार्कमाथि आरोप छ ।
अमेरिकी न्यायाधीवक्ता निक हन्नाले मार्कले ठूलै मानवीय क्षति गर्नेगरी योजना बनाएको पुष्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा सतर्कताका कारण समयमै उक्त हत्याकाण्ड रोकिएको छ ।”
डोमिङ्गोलाई गत शुक्रबार बम सहित गिरफ्तार गरिएको थियो ।
अदालती दस्ताबेज अनुसार डोमिङ्गोले अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) का एजेन्टसँग आफूले मुस्लिम समुदायमाथि भएका आक्रमणको बदला लिन चाहेको बताएका थिए ।
डोमिङ्गोले यहूदी, गिर्जाघर र प्रहरी अधिकारी समेतका धेरै ठाउँलाई लक्षित गरी आक्रमणका विकल्प बारेमा सोचेको र अन्त्यमा लङ बिच र्यालीमा आक्रमण गर्ने योजना बनाएको अधिकारीहरुले दाबी गरेका छन् ।
उनले आफ्ना अनलाइन पोष्टमा अमेरिकाले विश्वभर हिंसा फैल्याउन भूमिका खेलेको भन्दै त्यस्ता कार्य रोक्न अमेरिकी स्वार्थ जोडिएका क्षेत्रमा आक्रमण गर्नुको विकल्प नरहेको लेखेका छन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू