काठमाडौँ, १५ वैशाख ,, नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ ।
थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै नेपालको यो लगातार दोस्रो उपाधि हो । गत संस्करणमा भएको फाइनलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लागि १४१ रनको चुनौती दिएको थियो । जवाफमा मलेशिया ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटियो ।
मलेशियाका लागि वान महमद अजमले सर्वाधिक १६, महमद हाजिक आइमनले १८ तथा जिनेन्द्र मुरालेले १४ रन बनाए । मलेशियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशालकुमार पटेल एक्लैले चार विकेट लिए भने दीपक बोहोराले तीन विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन जोडे । यस्तै दीपक बोहोराले २३, कप्तान विशालविक्रम केसीले १७ तथा निखिलकुमार सिंहले १३ रन जोडे ।
बलिङतर्फ मलेशियाका सचिनु हित्तेजले तीन तथा जिनेन्द्र मुरालेले दुई विकेट लिए । समूह चरणको खेलमा पनि नेपालले मलेशियालाई ३९ रनले पराजित गरेको थियो । प्रतियोगितामा सिङ्गापुर तेस्रो स्थानमा रह्यो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू