पाल्पा, २९ चैत ,,खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि यहाँका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ । तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न समुदायका १० घरपरिवारका लागि जस्तापाता वडाले प्रदान गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । खरका छाना रहेका नागरिकलाई वर्षेनी छाउनुपर्ने समस्या हटेको छ । लामीचौतारीका कर्णबहादुर गुरुङ जस्तापाता पाएपछि वर्षेनी घर छाउनुपर्ने पिरलो हटेकामा खुशी हुनुहुन्छ ।
खर, डाँडाभाटा, दक्ष कामदारको अभाव, खर्च बढी हुने, वर्षायाममा पानी चुहिने समस्या हट्ने हुँदा उहाँमा खुशी छाएको हो । खर डाँडाभाटाको समस्या, दैनिक ज्याला रु ६०० भन्दा बढी र कामदारको अभावमा वर्षायाममा पानी छिरेर बस्न नसकिने बाध्यताबाट मुक्ति मिलेको छ । लामीचौतारीका कर्णबहादुर गुरुङ, कुसुमडाँडाका दलबहादुर घर्ती, जेदे सार्की, इन्दबहादुर सार्की, रणवीर सोमै, राधा न्यौपाने, धनबहादुर रोका, मनवीर छहरीलगायतका घरपरिवारलाई कर्कट जस्तापाता हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, वडाध्यक्ष श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिकाभित्रका प्रत्येक वडाका छ घरपरिवारका खरका छाना विस्थापित गरी कर्कटपाता लगाउने योजना रहेको बताउनुभयो ।
चालू आवमा रु २० लाख लगानीमा ४२ खरका छाना रहेका घरमा जस्तापाता सहयोग गर्ने कार्यक्रम रहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं १ मा १०० र २ मा ४० घरमा खरका छाना रहेका छन् । गाउँपालिका रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको छ । यो गाउँपालिकामा तीन हजार ९८८ घरधुरी छन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू