१९ माघ २०८१

बीस लाख बराबरको चोरी

२७ चैत्र २०७५, बुधबार ११:१८ मा प्रकाशित

गौशाला, २७ चैत,,महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गए राति रु २० लाख बराबरको चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट रु ११ लाखको गरगहना चोरी भएको छ । चोरले सो ज्वेलर्समा लगाइएको ताल्चा काटेर फलामको रडको सहयोगमा पसलको सटर बाङ्गो पारेर पसलमा रहेको रु छ लाख पर्ने सुनको विभिन्न गरगहना १० तोला र रु चार लाखको सात किलो चाँदी गरी रु ११ लाखको चोरी गरेको छ ।

त्यस्तै गए राति नै जिल्लाको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरामा एक समूहले स्थानीयवासी लक्ष्मीनारायण शर्माको घरको छतबाट घरभित्र पसी लाखौँको चोरी गरेका छन् । चोरहरुले शर्माको घरभित्र रहेको रु छ लाख पर्ने सुनका गरगहना १० तोला, ३५ तोला चाँदी विभिन्न सामान र दराजभित्र रहेको नगद रु ३५ हजार तथा अन्य सामान चोरी गरी लगेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । आज बिहान जिल्लाको दुई स्थानमा चोरीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा अन्य इलाका प्रहरी र प्रहरी चौकीबाट ती स्थानमा चोरको खोजतलास गर्न व्यापक रूपमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विषादी सेवनबाट महिलाको मृत्यु महोत्तरीको सोनमा गाउँपालिका–७ मा गए राति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–७ बस्ने हरिनारायण साहकी पत्नी ६० वर्षीया सिकिलादेवी साह रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । साहले खेतबारीमा किरा मार्न प्रयोग गर्ने थाइमेट नामक विषादी सेवन गरेपछि उनको अवस्था सिकिस्त भएर परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा गए राति करीब ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साहले के–कति कारणले विषादी सेवन गरेको भन्ने खुलेको छैन । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter