११ माघ २०८१

सुडानमा विरोध जारी, नियन्त्रणका लागि अश्रुग्यास र गोली प्रहार

२६ चैत्र २०७५, मंगलवार १५:३७ मा प्रकाशित

खार्तुम, २६ चैत ,, सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ । गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन् । राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ । गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा देशव्यापी प्रदर्शन शुरु भएको थियो ।

बसिर ३० वर्षदेखि सुडानको शासनसत्तामा छन् । मङ्गलबार बिहान सबेरै राष्ट्रिय गुप्तचर विभागका सदस्यहरु, सुरक्षा सेवाका सदस्य र दङ्गा प्रहरीको संयुक्त प्रयासमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । सेनाले आफ्नो प्रवेशद्वार खोलेपछि प्रदर्शनकारीहरु भित्र छिरेको र त्यसपछि भारी मात्रामा अश्रुग्यास प्रहार गरिएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । केही समयपछि सेनाको एक समूहले हवाई फायर गरेको थियो । गत डिसेम्बरमा पाउरोटी र तेलको मूल्य बढेपछि शुरु भएको आन्दोलनका क्रममा हालसम्म ३८ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत शनिबारदेखि जारी पछिल्लो प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु हुनका साथै अन्य १५ जना घाइते भएको गृहमन्त्री बसहारा जुमाले बताउनुभएको छ । उहाँका अनुसार यस प्रदर्शनका क्रममा ४२ सुरक्षाकर्मी घाइते भएका र दुई हजार ४९६ सर्वसाधारण पक्राउ परेका छन् । प्रदर्शनकारीहरुले सेनालाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न आग्रह गर्दै मुलुकको विषम परिस्थितिलाई थप अस्थिर हुन नदिन सेनाको सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरुले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter