०३ माघ २०८१

मिथिलाञ्चलमा आजदेखि चैतीछठ शुरु

२५ चैत्र २०७५, सोमबार १०:३९ मा प्रकाशित

वीरगञ्ज, २५ चैत ,, मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ आजदेखि विधिवतरूपमा शुरु भएको छ । लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ । सो दिनलाई नहाय खाय भनिन्छ । चैत २७ गतेको दिन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ । सो दिनलाई पारन भनिन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएर चैतीछठ सम्पन्न गरिने परम्परा रहेको छ ।

चार दिनसम्म विधिवतरूपमा मनाइने यो पर्वको पहिलो दिन तृतीया तिथिलाई अरवा अरवाइन भन्ने गरिन्छ । व्रती महिलाबाट सो दिन भोजनमा माछामासु, लसुनप्याज, कोदो, मसुरोजस्ता वस्तुहरु परित्याग गरी यसै दिनदेखि व्रत बस्न शुरु गरिनछ । पर्वको दोस्रो दिन अर्थात् चतुर्थीको दिनलाई खरना अर्थात् पापको क्षयको रूपमा लिइन्छ । गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारेको झोलले भूमि सुशोभित गरेर व्रती महिलाले यो दिन दिनभरि निर्जला व्रत बस्ने गर्दछन् । राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई सो खीर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । यस दिनदेखि व्रती महिला पूर्णव्रत लिनुपर्ने परम्परा रहेको व्रती महिला सुधा कर्णको भनाइ छ ।

व्रतको तेस्रो दिन पञ्चमी तिथिका दिन गहँु र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट बनेको पिठोबाट विभिन्न प्रकारको प्रसाद बनाइन्छ । सोही दिन विभिन्न प्रकारको प्रसादसहित नजिकको पोखरी, तलाउमा गएर सूर्य देवतालाई सन्ध्या अघ्र्य दिइन्छ । भोलिपल्ट पर्वको अन्तिम दिनलाई पारन भन्ने गरिन्छ । षष्ठीको दिन एकाबिहानै सूर्य देवतालाई बिहानीको अघ्र्य दिएर यो पर्व सम्पन्न गरिन्छ । महाभारतअनुसार द्रौपदीसहित पाण्डव गुप्तबासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको पाइन्छ ।

त्यस्तै सूर्य पुराणअनुसार अनसूयाले छठव्रत बस्दा उनको अटल शौभाग्य र मनोकांक्षा पूरा भएपछि छठपर्व गर्ने परम्परा शुरु भएको मान्यता रहिआएको छ । शाम्ब पुराणअनुसार आफ्नै पिता भगवान् कृष्ण तथा महर्षि दुर्वासा ऋषिको सरापबाट कुष्ठरोगपीडित शाम्बले सूर्यको आराधना गरेपछि सो रोगबाट मुक्त भएको भनाइ रहेको छ । भनिन्छ सातौँ शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासना गरेपछि मुक्ति पाएका थिए । छठपर्व मनाउनुको पछाडि वैज्ञानिक र ज्योतिष मान्यता रहिआएको छ । यो पर्व गर्दा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । मिथिला क्षेत्रमा यो पर्वको तयारी एक महीना पहिलेदेखि गर्न थालिन्छ । पहिले–पहिले चैतीछठ मानिसले नगण्यमात्रामा मनाउने गर्दथे तर पछिल्ला वर्षमा चैतीछठ गर्नेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter