लमही, २२ चैत ,, दाङको शान्तिनगर गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीका अनुसार गाउँपालिकाका ९७ गाउँमध्ये ९४ गाउँमा सडक पुगेको बताउनुभयो । “हामीले सडक विस्तारलाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म ९४ गाउँमा सडक पुगिसकेको छ ।” बाँकी रहेका तीन गाउँलाई पनि चालू आवमै सडकसँग जोड्ने लक्ष्य रहेको उहाँको भनाइ छ । उहाँले ग्रामीण क्षेत्रमा केही कठिनाइ भएको भए पनि चालू आवभित्रै सबै गाउँमा सडक सञ्जाल विस्तार गर्ने बताउनुभयो ।
सात वडा रहेको उक्त गाउँपालिकामा अहिलेसम्म नौ किलोमिटर मात्रै सडक ओटासिल रहेको छ । साथै गाउँपालिकाले खानेपानीलाई पनि विशेष महत्व दिएको छ । अहिले तीन सिँचाइ योजनाको काम भइरहेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । विकटमा स्वास्थ्यचौकी गाउँपालिकाले तीन स्वास्थ्यचौकी निर्माण गरेको छ । गाउँपालिकाको विकट क्षेत्रको वडा नं १, ३ र ५ मा तीन स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष डाँगीले बताउनुभयो । वडा नं १ को पेदीखोला, ३ को बस्तेखोला र ५ को रगैँचामा स्वास्थ्य सेवा दिन थालिएपछि बिरामी उपचारकै लागि तीन घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँले जानकारी दिनुभयो । “यसअघि उपचारका लागि बिरामी तीन घण्टा बढी हिँड्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “तर अहिले स्वास्थ्य सेवा शुरु गरेपछि भने सहज भएको छ ।” साथै गाउँपालिकामा बिरामीलाई सहजरुपमा अस्पतालसम्म लैजान एउटा एम्बुलेन्स पनि खरीद गरिएको उहाँले बताउनुभयो । साथै बर्थिङ सेन्टर पनि सञ्चालनमा ल्याएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।
कृषिलाई तीन पकेटमा विभाजन कृषिको लागि उपयुक्त रहेको उक्त गाउँपालिकाले कृषिलाई तीन पकेटमा विभाजन गरेको अध्यक्ष डाँगीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको उत्तरी क्षेत्रलाई अदुवा, बेसार, तोरी तथा बाख्रापालनका लागि वर्गीकरण गरिएको अध्यक्ष डाँगीले बताउनुभयो । त्यस्तै गाउँपालिकाको बीच भागलाई तोरी र गाईपालन तथा तल्लो भागलाई गहुँखेती तथा भैँसीपालनका रुपमा वर्गीकरण गरेको उहाँको भनाइ छ । यसरी वर्गीकरण गरेर गाउँपालिकालाई कृषिले समृद्ध बनाउने योजना रहेको उहाँको भनाइ छ । साथै किसानलाई प्रोत्साहन गर्न हातेट्र्याक्टर, मल, बीउ अनुदानमा उपलब्ध गराउने गरिएको अध्यक्ष डाँगीले बताउनुभयो । साथै मौरीपालक किसानलाई ८० घार वितरण गरिएको छ । गाउँपालिकाका सबै बस्तीमा अझै विद्युत् पुग्न नसकेको समेत उहाँको भनाइ छ । उहाँका अनुसार वडा नं १, २ र ३ का केही बस्तीमा अझै पनि विद्युत् पुग्न नसकेको हो ।
सहयोगीको भरमा कृषि शाखा दाङको बबई गाउँपालिकाको कृषि शाखा कार्यालय सहयोगीको भरमा चलिरहेको छ । करीब तीन÷चार महीनादेखि गाउँपालिकाको कृषि शाखा कार्यालय सहयोगी मात्रै कार्यरत रहेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । “अहिले कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्ने मात्रै काम भएको छ”, उहाँले भन्नुभयो, “अन्य कुनै पनि काम अघि बढ्न सकेका छैनन् ।” कार्यालय प्रमुख सरुवा भएर गएपछि अहिले सहयोगी मात्रै रहेको उहाँले जानकारी दिनुभयो । बबईलाई विकट मानेर कर्मचारी आउन नमानेको उहाँको भनाइ छ । “कर्मचारीले बबईलाई विकट छ भनेर यहाँ आउन मान्नुभएको छैन”, उहाँले भन्नुभयो, “तुलसीपुरदेखि २५÷३० किलोमिटरको दूरी धेरै टाढा होइन ।” कर्मचारी नहुँदा अहिले कृषिका कुनै पनि कामहरु अघि बढाउन नसकिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । कर्मचारी नहुँदा कुनै पनि काम गर्न नसिकने र बजेट पनि खर्च नहुँदा सोचेअनुसार विकास गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार चालू वर्षमा कृषि शाखाका लागि रु एक करोड पाँच लाख बजेट विनियोजन गरिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू