१९ माघ २०८१

वन्यजन्तुपालनले चोरी शिकारी घट्छ’

२० चैत्र २०७५, बुधबार २३:५६ मा प्रकाशित

काठमाडौँ, २० चैत ,, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कतिपय वन्यजन्तु पाल्न मिल्ने गरी कानून निर्माण भइरहेको बताउनुभएको छ ।

मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न आज यहाँ आयोजित कार्यशालामा मन्त्री बस्नेतले संरक्षित जनावरको चोरी शिकारी रोक्न पनि घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने बताउनुभयो ।

वन्यजन्तुपालन अन्तर्राष्ट्रिय रुपमै प्रचलनमा रहेकाले नेपालमा पनि शुरुआत गर्न लागिएको जानकारी गराउँदै मन्त्री बस्नेतले भन्नुभयो, “वन्यजन्तु पालन गर्न दिँदा कतिपय अवस्थामा संरक्षित जनावरको बिक्री वितरण हुने सम्भावना रहेकाले त्यसतर्फ भने सचेत हुनुपर्छ, वन्यजन्तु पालन गर्न दिइयो भने चोरी शिकारी पनि घट्छ ।”

घरमा जनावर पाल्न दिँदा वनको शिकार हुन्छ कि भन्ने पनि चिन्ता रहेको उल्लेख गर्दै उहाँले घरमै जनावर पाल्न पाइने भएपछि मानिसहरु कारवाहीको जोखिम मोलेर संरक्षित जनावरको शिकार गर्न जङ्गल नजाने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले नीति तथा कार्यक्रममा वनलाई समृद्धिको आधार बनाउने गरी कार्यक्रम ल्याउन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै जनताले देख्न, बुझ्न र अनुभव गर्न सक्ने खालका कार्यक्रम ल्याइने बताउनुभयो ।

कूल भूभागको करीब ४५ प्रतिशत हिस्सा ओगटेको वन क्षेत्रको उपयोग वातावरणीय रुपमा मात्र हुन नहुनेमा जोड दिँदै उहाँले वन क्षेत्रको संरक्षण, उपयोग र त्यसबाट प्राप्त हुने लाभहरुको समुचित वितरण गरिने बताउनुभयो ।

विकासवादी मानिसका आँखाबाट हेर्दा वन मन्त्रालयको छवि विकास विरोधी र संरक्षणकर्मीका आँखाबाट हेर्दा विनाशकारी जस्तो देखिने चर्चा गर्दै मन्त्री बस्नेतले संरक्षण र विकासको सन्तुलन मिलाउन नसक्दा त्यस्तो भएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र बजेटको अनुमानित खाका प्रस्तुत गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter