चितवन, ११ चैत ,, सरकारी अस्पताल भन्ने वित्तिकै प्रायः सबैको मनमस्तिष्कमा ढिलासुस्ती र प्रभावकारी सेवा उपलब्ध गराउन नसक्ने छाप परेको पाइन्छ । तर यहाँको सरकारी भरतपुर अस्पताल प्रसूति सेवाका लागि सबैको पहिलो रोजाइँ बन्ने गरेको छ । जिल्लाका ठूला वडामात्रै होइन, अन्य अस्पतालका चिकित्सकको पनि प्रसूति सेवाका लागि यो अस्पताल पहिलो रोजाइँमा पर्ने गरेको छ ।
काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउनेमा यो अस्पताल पर्दछ । गत आर्थिक वर्षमा भरतपुर अस्पतालमा १६ हजार २४३ जनाको प्रसूति गराइएको छ । जिल्लामा दुई मेडिकल कलेज, दुई दर्जन निजी अस्पतालमा पनि प्रसूतिसेवा उपलब्ध छ । तर तीनै अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले पनि आफ्नो आफन्तलाई प्रसूति गराउनुपर्दा भरतपुर अस्पताल आइपुग्ने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण पौडेलले बताउनुभयो ।
त्यसैगरी जिल्ला र आसपासका क्षेत्रबाट विदेश गई बसोवास गरेका पनि प्रसूति गराउनका लागि भरतपुर अस्पताल आउने गरेका छन् । अस्पतालमा रहेका पुराना, अनुभवी र दक्षचिकित्सक एवं नर्सिङ कर्मचारीका कारण सबैको पहिलो रोजाइँ भरतपुर अस्पताल बन्ने गरेको पौडेलको भनाइ छ ।
उहाँका अनुसार बच्चा जन्माउने काममा ८५ प्रतिशत भूमिका नर्सिङ कर्मचारीको हुने गर्छ । यो अस्पतालमा ३५ वर्षदेखि प्रसूति विभागमा काम गरेका अनुभवी कर्मचारी छ । प्रसूती कक्ष (लेवर रुम) मा १९ जना नर्सिङ कर्मचारी रहेको र उनीहरुले चौबीसैं घण्टा प्रसूति सेवा उपलब्ध गराउँदै आएको पौडेलले बताउनुभयो ।
अस्पतालका प्रसूति तथा स्त्रीरोग विभाग प्रमु्ख डा श्रीप्रसाद अधिकारीले दक्षजनशक्ति, चौबीसैघण्टा चिकित्सकसहितको सेवा, बिरामीलाई दिइने प्राथमिकता, निःशुल्क प्रसूति सेवालगायतका कारण यो अस्पताल प्रसूति सेवाका लागि सबैको रोजाइँमा पर्ने गरेको बताउनुभयो । उहाँका अनुसार अन्य अस्पतालले चर्काे शुल्क लिने भए पनि भरतपुर अस्पताल उपचारपछि घर जानका लागि भाडासमेत दिने गर्दछ ।
अस्पतालमा निःशुल्क बाल सघन उपचार कक्ष भएकाले पनि सबैको पहिलो रोजाइँ भरतपुर अस्पताल बनेको अधिकारीले बताउनुभयो । पछिल्लो समय धेरै महिलाको शल्यक्रियाबाट बच्चा झिक्नुपर्ने बाध्यता हुने गरेको छ । उहाँका अनुसार २५ देखि ३० प्रतिशत महिलाको प्रसूतिका लागि शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना हुने गरेको छ । कहिलेकाहीँं प्रसूतिका क्रममा समस्या देखिने भए पनि मानवीय त्रुटीका कारण भने समस्या नहुने गरेको उहाँको भनाइ छ ।
नेपालमा मात्रै नभएर विदेशका अस्पतालमा पनि प्राविधिक त्रुटीका कारण कहिलेकाहीँ समस्या देखिने गरेको अधिकारीले बताउनुभयो । अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिलमणि पोखरेल नीजि क्षेत्रका अस्पतालभन्दा सरकारी अस्पतालमा अनुभवी र दक्ष चिकित्सक कर्मचारी रहेका कारण यो अस्पताललाई सबैले प्राथमिकतामा राख्ने गरेको बताउनुहुन्छ ।
अस्पतालमा नौजना पुराना प्रसूतिरोग विशेषज्ञ छन् भने पाँचजना सोही विषयमा स्नातकोत्तर गर्दै गरेका चिकित्सक पनि छन् । अस्पतालमा नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम लागू हुनु, चिकित्सक र नर्सिङ कर्मचारीले प्रसूति गराउने विषयमा धेरै तालीम र अनुभव हासिल गर्नु, बच्चा जन्मिएपछि गर्नुपर्ने सबै खाले सेवा उपलब्ध हुनु, बालरोग विभागमा दक्ष चिकित्सक हुनु जस्ता कारणले भरतपुर अस्पताल रोजाइँमा पर्ने गरेको डा पोखरेलले बताउनुभयो ।
बीस वर्षभन्दा बढी अनुभव हासिल गरिसक्नुभएका पोखरेल जिल्लाका अन्य अस्पतालमा कार्यरत चिकित्सकदेखि ठूलावडाहरु सबैको प्रसूति सेवाका लागि यो अस्पताल पहिलो रोजाई बन्ने गरेको बताउनुहुन्छ ।
अस्पतालमा प्रसूतिगृहका लागि आवश्यकपर्ने आधुनिक शल्यक्रिया कक्ष र उपकरण जडान भएसँगै बिरामीको चाप झनै बढ्दो छ । यो सँगै अस्पतालमा पुराना र अनुभवी रेडियोलोजिष्ट समेत रहेकाले बिरामीको अवस्था बुझ्न सजिलो भएकाले पनि सबैको रोजाइँ भरतपुर अस्पताल हुने गरेको छ । अस्पतालमा प्रयोगशाला, सिटिस्क्यान, सघन उपचार कक्ष, सुविधा सम्पन्न क्याबिन र प्रसूति कक्ष रहेका छन् ।
प्रसूति गराएपछि राख्नका लागि श्यया व्यवस्थित रहेका छन् भने पर्याप्त खुल्ला ठाउँ रहेको छ । अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरङ्ग सेवाका लागि आउने गर्दछन् । हालै मात्रै संघीय अस्पताल बनेको भरतपुर अस्पतालमा १२ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।
अस्पतालमा सरकारी र विकास समितितर्फ गरी ६७२ कर्मचारी र १२३ चिकित्सक कार्यरत छन् । हाल अस्पतालमा विकास समितिबाट ३०० सहित ६०० श्यया सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । सङ्घीय अस्पताल बनेसँगै पाँच सय सरकारी श्यया पुग्ने उहाँले बताउनुभयो ।
अस्पताललाई विशिष्टि सेवासहितको विशेषज्ञ अस्पताल बनाउन लागिएको छ । अस्पतालमा १२ विभाग छन् ।
–––
तपाईंको प्रतिकृयाहरू