१३ माघ २०८१

ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको सम्भावना छ – बोल्टन

२७ फाल्गुन २०७५, सोमबार १४:१४ मा प्रकाशित

वासिङटन, २७ फागुन ,,  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनसँग तेस्रो शिखर वार्ता गर्न आफू खुल्ला रहेको बताउनुभएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सहल्लाकार जोन बोल्टनले आइतबार अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिनुभएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले किमसँग व्यक्तिगत सम्बन्ध विकास गर्नका लागि लामो समय खर्चिनु भएको बताउँदै दुबै नेताबीच आपसी विश्वास अझ प्रगाढ र सुदृढ भएको स्पष्ट गर्नुभयो ।

किमसँग तेस्रो शिखर वार्ता गर्नका लागि ट्रम्प तयार हुनुहुन्छ तर समयतालिका भने तय छैन भन्दै बोल्टनले केही समयका लागि दुई नेताबीच बिदावारी मात्र भएको बताउनुभयो ।

उत्तर कोरियाबाट प्राप्त उपग्रहीय चित्रहरुको विश्लेषणका बारेमा सोधिएको एक प्रश्नमा बोल्टनले कुनै एक व्यावसायिक उपग्रहीय तस्वीरका आधारमा आफूले कुनै अनुमान गर्न नसक्ने स्पष्ट गर्नुभयो ।

उहाँले उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी थालेको भनी आएका समाचारहरुका बारेमा वासिङटनले प्योङयाङसँग कुनै सोधीखोजी नगरेको पनि बताउनुभयो ।

केही दिन अघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले रकेट प्रक्षेपणका लागि परीक्षण ‘साइट’ पुनः निर्माण गर्न लागेको भनी आएका समाचार सही भए त्यो निराशाजनक हुने प्रतिक्रिया दिनुभएको थियो ।

उत्तर कोरियाले तोङचाङ्री लाउन्ज फेसिलिटी क्षेत्रमा रकेट प्रक्षेपणका लागि भन्दै काम गरिरहेको समाचार अमेरिकी सञ्चारमाध्यमहरुले दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको शिखर वार्ता भएको थियो ।

सो वार्तामा कुनै पनि विषयमा सम्झौता भने नभएको बताइएको छ । उहाँहरुबीच कुनै सहमति नभएको भए पनि वार्ता भने सकारात्मक र प्रगतिउन्मुख रहेको अधिकारीहरुको भनाइ छ ।

उहाँहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । सो वार्तामा उत्तर कोरियाले निशस्त्रीकरणका लागि प्रतिबद्धता अघि सारेको थियो ।

अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई निरन्तरता दिने बताउँदै आएको छ । हनोइ बैठकपछि राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो– कुनै विषयमा सम्झौता नै नभए पनि वार्तालाई भने निरन्तरता दिइने छ, हनोई वार्ता सकारात्मक भएको छ ।
––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter