०२ माघ २०८१

नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने

१५ चैत्र २०७४, बिहीबार २१:२७ मा प्रकाशित

चितवन, १५ चैत (रासस) ः नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री नियुक्त भई कार्यप्रारम्भ गरेका दिन विश्व बैंकसँग ती पुलका लागि बजेट माग गर्ने फाईलमा पहिलो हस्ताक्षर गर्नुभएको थियो ।

सडक विभागका उपमहानिर्देशक एवं वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले मन्त्री महासेठले विशेष महत्व राखेर हस्तक्षर गर्नुभएकाले ती पुललाई नक्सांकनसहित निर्माण गर्ने गरी ठेक्का दिने तयारी गरिएको बताउनुभयो । श्रेष्ठले असारभित्रमा विश्व बैंकसँग सम्झौता सम्पन्न गरी काम अगाडि बढाईने बताउनुभयो । उहाँले भन्नुभयो “यी पुल एक वर्षभित्रमा सम्पन्न गर्नेछौं ।”

केही ठाउँमा भित्तो काटेर पुल बनाउनु पर्ने भएपनि महत्वपूर्ण सडक भएकाले छिटो सम्पन्न हुने गरी काम गरिने उहाँले बताउनुभयो ।

एकिन अहिले नै भन्न नसकिने भए पनि झण्डै दुई अर्ब रुपैयाँ लागत लाग्ने अनुमान रहेको पनि उपमहानिर्देशक श्रेष्ठले बताउनुभयो ।

सोही सडकका चार वटा पुल निर्माण भईरहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका परियोजना संयोजक समेत रहनु भएका श्रेष्ठले पुलको चौडाई ११ मिटर फराकिलो हुने बताउनुभयो । हाल रहेका पुल नभत्काईकन सकेसम्म छोटो पर्ने गरी पुल निर्माण गरिंदै छ । सडकको नारायणगढदेखि १६ किलोमिटरसम्म ११ मिटर फराकिलो छ भने त्यस उता मुग्लिनसम्म नौ मिटर फराकिलो बन्दैछ । हाल रहेका पुलहरु भने पाँच दशकलव पाँच देखि ६ मिटर फराकिला रहेका छन् ।

सडक फराकिलो र पुल साँघुरा हुँदा सवारी आवागमनमा समस्या हुने भएकाले छिटो सम्पन्न गर्न सक्ने गरी पुल निर्माण गरिने श्रेष्ठले बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले अब बन्ने पुलबाट दुईतर्फी सवारी सहज सञ्चालन हुने बताउनुभयो । पुलको दुवै छेउमा एक दशमलव पाँच मिटरका फुटपाट हुनेछन् । खनालका अनुसार हाल बन्दै गरेका चार वटा पुलको काम तीब्र गतिमा अगाडि बढिरहेको छ ।

निर्माण शुरु भएका चार वटा पुलमा नारायणगढबाट १२ किलोमिटर दासढुङ्गा, १६ किलोमिटर खानी पुल, २२ किलोमिटर मौरी पुल र २९ किलोमिटर जलवीरे रहेका छन् । दासढुंगाको पुलमा फाउण्डेशन सम्पन्न भई पिल्लर समेत उठिसकेको छ भने अन्य ठाउँमा खन्ने र फाउण्डेशनको काम भईरहेको छ । उहाँका अनुसार जलवीरेको पुलमा भने बाटो विस्तार पछि नक्सा नै परिवर्तन गर्नुपर्ने देखिएको छ ।

जलवीरे पुल रु १४ करोडमा ठेक्का दिइएको छ । अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । ३ वटा पूल निर्माणको जिम्मा लामा कन्सट्रक्सनले पाएको छ । जलवीरे पुल निर्माणको ठेक्का सोही खण्डमा सडक निर्माण गरिरहेको सुप्रिम रौताहा जेभीमध्ये नेपाली कम्पनी रौताहाले पाएको छ ।

नारायणगढ मुग्लिन सडक खण्ड निर्माण हुन १८ प्रतिशत बाँकी छ । आउँदो जेठ १५ भित्र सडकको काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter