पोखरा, १६ फागुन ,, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य सङ्घले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
सङ्घका महासचिव अर्जुन पोखरेलले आज विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीको निधनले सङ्घ, कास्कीवासी र समग्र राष्ट्रले भरोसायोग्य राजनेता, एक सहयात्री, शुभेच्छुक र अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सङ्घको अगुवाइ भएका हरेक दबाबमूलक कार्यक्रम र देशकै लामो रिले अनशनमा जनप्रतिनिधिको रुपमा उहाँले देखाउनुभएको ऐक्यबद्धता, सहयोग र सुझावलाई स्मरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
“संविधानसभा सदस्य हुँदा होस् वा नेपाल सरकारका मन्त्री, उहाँले नेपालको निजी क्षेत्रसँग सहकार्य, पोखराको आर्थिक समृद्धि र यस सङ्घप्रति देखाउनुभएको सहयोग सदा स्मरणीय रहनेछ ।”, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी उक्त घटनामा पर्यटनको क्षेत्रका अग्रणी व्यक्तित्व आङछिरिङ शेर्पाको निधनबाट नेपालको पर्यटन विकासको क्षेत्रमा ठूलो बज्रपात भएको उल्लेख गर्दै ज्यान गुमाएका सबै राष्ट्रसेवक कर्मचारीमा पनि समबेदना व्यक्त गरिएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू