चिप्लेढुङ्गा, १६ फागुन ,, पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो ।
बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पोखरा–५ निवासी विकासप्रेमी नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा पार्कको नाम रवीन्द्र स्मृति वाटिका राख्ने निर्णय गरिएको हो ।
सूर्यचन्द्र विकास समाजद्वारा निर्मित पार्क मन्त्री अधिकारीले गत साउन ११ गते उद्घाटन गर्नुभएको थियो । पार्कलाई स्थापनादेखि सुव्यवस्थित गर्दै र शहीद स्मृति पुस्तकालयको आधुनिकीकरण गर्नमा मन्त्री अधिकारीको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँको सम्मानमा नाम परिवर्तन गर्ने निर्णय गरिएको नेपालीले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष गायत्री भुत्र्यालको अध्यक्षतामा बसेको बैठकमा वडा नं ५ का जनप्रतिनिधि, पूर्वअध्यक्ष एवं सल्लाहकारहरुको सहभागिता रहेको थियो ।
–––
तपाईंको प्रतिकृयाहरू