पशुपतिनर, ८ फागुन ,, इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन् ।
प्राकृतिक कुवा, धारा सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेलेको वर्षाँै बितेको छ । गाउँका पानीका मुहान सुकेसँगै दक्षिणी चुरे क्षेत्रका बासिन्दाका लागि खोला र खोल्साका किनार पानीका स्रोत भएका छन् । चुरे क्षेत्रमा जङ्गल फँडानी, अव्यवस्थित बसोबास, विकास निर्माण र अतिक्रमणका कारण पानीका मुहान सुकेपछि स्थानीयवासीले खानेपानीका लागि सास्ती खेप्नु परेको महमाईका देवीभक्त कुमालले बताउनुभयो ।
चुरे क्षेत्रमा पर्ने माई नगरपालिका र चुलाचुली गाउँपालिका क्षेत्रमा वन फँडानी बढेसँगै वर्षात्मा हुने भूक्षय र बाढीपहिरोले पानीका मुहान पुरिने र सुक्ने गरेको छ । वर्षौँदेखि उपभोग गर्दै आएको पानीको स्रोत सुकेपछि चुरे क्षेत्रका बासिन्दा खोला किनार तथा खेतमा ट्युवेल, इनार बनाई वर्षात्मा धमिलो र हिउँदमा बालुवासहितको पानी खान बाध्य छन् । आयस्रोत हुनेले ट्युवेल र इनारको पानी मोटरबाट घरमै तान्छन् भने नहुनेले खोला किनार धाउने गरेको दानाबारीका तेजबहादुर घिमिरेले बताउनुभयो ।
चुरे क्षेत्रको खानेपानी समस्या समाधानका लागि सरकारी निकायबाट प्रयास भए पनि दीर्घकालसम्म पानी हुने मुहान नहुँदा खानेपानी आयोजना अलपत्र छन् । वर्षातमा कुवा तथा धारोमा पानी भए पनि दक्षिणी चुरे क्षेत्रका बस्तीमा हिउँदमा पानीको अत्यधिक समस्या हुने गरेको छ । दिनप्रतिदिन खानेपानीका मुहान सुक्न थालेका छन् । पानीको सङ्कट भएसँगै विद्यार्थीले तिर्खा मेटाउन घरैबाट बोतलमा पानी ल्याउने गर्छन् । चुरे क्षेत्रका विद्यालयमा खानेपानी अभाव हुँदा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाइमा समस्या हुने गरेको माई नगरपालिकाका दीपक थेवेले बताउनुभयो ।
विद्यालय परिसरमा खानेपानी नभएकै कारण माई नगरपालिका–४ स्थित कन्काइ उच्च मावि, दीपज्योति प्रावि, महमाईको वीरेन्द्र निमाविलगायतका विद्यालयका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर विद्यालय जान बाध्य छन् । विद्यालयले गाउँबाट खोजेर एक गाग्री पानी ल्याए पनि हिउँदमा समस्या हुने गरेको छ । कन्काइ उच्च माविका शिक्षक खेमराज लिम्बू विद्यार्थी पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “पानी खान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुनःकक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्छ ।” अत्यधिक वन फँडानी र खानेपानीको मुहान संरक्षण नहँुदा चुरे क्षेत्रका पानीका मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो । साविक दानाबारी गाविसको २, ३, ४, ५ र ७ नं वडालाई समेट्ने गरी झण्डै दुई दशकअघि एसियाली विकास बैंकको सहयोगमा रु एक करोड ६७ लाख लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका ४२२ मध्ये अहिले ८÷१० धारामा मात्र मुस्किलले पानी आउँछ । आयोजनाको प्रायः सबै धारा भत्किएका छन् । बाँकीमा दानाबारीको सितलीबजार क्षेत्रका स्थानीयवासीले मर्मत गरी जेनतेन पानी प्रयोग गर्दैछन् ।
साविक दानाबारीको–३ को गङ्टे–९ को माझीटार र महमाईको कलकते चुलीका बासिन्दालाई अहिले पानीको समस्या छ । खोलाछेउका बासिन्दाले खोला किनारमा खाल्डो खन्ने र ट्युवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएको माई नगरपालिकाका कमल भण्डारीले बताउनुभयो । “पहिले खोला किनारका गाउँमा १० फिट जति खन्दा पानी निस्कन्थ्यो अहिले २५÷३० फिट खन्नुपर्छ”, उहाँले भन्नुभयो । चुलाचुली गाउँपालिकाका बासिन्दाले समेत खानेपानीको अभाव खेपिरहेका छन् । भएका खानेपानीका मुहान र कुवासमेत दिनप्रतिदिन सुक्दै गएकाले समस्या जटिल बन्दै गएको हो । खानेपानी लिन घण्टौँ धाउनुपर्ने र पालो कुर्नुपर्ने चुलाचुली गाउँपालिका आइतबारेका नरमाया बुढाथोकीले बताउनुभयो । गाईवस्तुलाई पानी खुवाउन निकै समस्या छ ।
“बर्खामा त दुःखसुख गरी पानी खाइन्छ, हिउँद लाग्ने बित्तिकै मुहान सुक्छ, पानीको समस्या निकै हुन्छ”, उहाँले भन्नुभयो । पुराना खानेपानी आयोजनाका मुहान सुकेपछि धारामा पानी आउन छाडेको महमाईका सन्तराम योङहाङले बताउनुभयो । गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलाको पानी उपभोग गर्ने गरेका छन् ।
–––
तपाईंको प्रतिकृयाहरू