काठमाडौँ, ३ फागुन ,, “परिवार योजनाः सेवाको पहुँचबाहिर परेकालाई समेट्ने ” भन्ने नाराका साथ राष्ट्रिय परिवार योजना सम्मेलन आगामी चैत ४ र ५ गते काठमाडौमा आयोजना हुने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत करिव दुईसय प्रतिनिधिको सहभागिता रहने छ । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष(युएनएफपिए)को आर्थिक एवम् प्राविधिक सहयोगमा आयोजना हुने सो प्रथम सम्मेलनले आगामी दिनमा परिवार योजना कार्यक्रममा पहुँच बढाउन, सेवा विस्तार गर्न कोशेढुङ्गाको काम गर्ने विश्वास गरिएको छ ।
सम्मेलन आयोजनाका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिवार योजना शाखाका प्रमुख कविता अर्यालले परिवार योजना २०२० मा नेपालले गरेको प्रतिवद्धता र परिवार योजनामा सबैको सहभागिता सुनिश्चिताका विषयमा छलफल हुने जानकारी दिनुभयो ।
युएनएफपिएका अनुसार सन् १९९६ मा सरदर प्रजनन्दर ४.६ रहेकोमा सन् २०१६ मा २.३ मा झरेको छ । यसैगरी परिवार नियोजनको साधन प्रयोगदरमा खासै उल्लेख्य सुधार हुन सकेको छैन । पछिल्लो तथ्याङ्क अनुसार परिवार नियोजनको साधन प्रयोगदर ५३ प्रतिशत मात्र रहेको छ । तर आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या ४३ प्रतिशत भन्दा माथि उक्लिन सकेको छैन ।
सरकारले परिवार योजना कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ । तर पनि कार्यक्रम किशोर किशोरी तथा युवा,सुत्केरी महिला तथा सीमान्तकृत समुदायको पहुँचमा पुग्न सकिरहेको छैन । सम्मेलनले परिवार नियोजनको साधनको प्रयोग वढाउन नयाँ रणनीति तय गर्न सहयोग पुग्ने विश्वास आयोजकले राखेका छन् ।
–––
तपाईंको प्रतिकृयाहरू