सप्तरी, १८ माघ ,, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५ मा निर्माण हुने आपतकालीन सामाजिक सुरक्षित आवास (सेल्टर हाउस) को बिहीबार शिलान्यास भएको छ ।
नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले संयुक्तरूपमा आवासको शिलान्यास गर्नुभयो ।
कोरियाली रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सप्तरी शाखाद्वारा सञ्चालित कोशी वेशीन कार्यक्रमअन्तर्गत आपतकालीन आवास निर्माण हुनलागेको कोशी वेसीनका कार्यक्रम अधिकृत प्रशान्त थापाले बताउनुभयो ।
कूल रु १६ लाख ६८ हजार ८५४ को लागतमा सो आवास निर्माण हुनलागेको हो । सुरक्षित आवासगृहमा एउटा सानो र एउटा ठूलो कोठा बनाइने छ ।
शिलान्यासपश्चात गाउँपालिका अध्यक्ष सिंहले निर्धारित तीन महीनाको समयसीमाभित्र आपकालीन सुरक्षित आवास निर्माण हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चालीस कार्टुन मदिरासहित पक्राउ
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नेपाल– भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले ४० कार्टुन मदिरासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बस्ने ३५ वर्षीय अशोककुमार रायलाई ४० कार्टुन मदिरासहित पक्राउ गरेको जनाएको छ ।
कार्टुनभित्र १२०० थान मदिरा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको मदिरासहित नियन्त्रणमा लिइएको रायलाई आवश्यक कारवाहीका लागि बेल्ही भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू