लमही, १७ माघ ,, शान्तिनगर गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप रनिङशिल्ड प्रतियोगिता उद्घाटन गर्न बुधबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी यहाँ आइपुग्नुभयो । दिउँसो २ बजे प्रतियोगिताको उद्घाटनसत्रमा शान्तिनगर गाउँपालिका सबै वडाले वडाको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति गरिरहेका थिए ।
पहाडी र तराई क्षेत्र समेटिएको सो गाउँपालिकाको प्रत्येक वडाले क्रमअनुसार सोरठी, मयूर नाचदेखि थारू नाच प्रस्तुत गरिरहेका थिए । सोही क्रममा वडा नं ६ को पालो आयो । थारूबाहुल्य क्षेत्र रहेको सो वडाले थारू नाचसंगै मन्त्रीलाई थारू परिकारले पनि स्वागत ग¥यो । त्यो स्वागतका लागि मात्रै स्वागत नभई थारूको पहिचान, वेशभूषा र खानपिनबारे प्रचार गर्न सके दाङलाई थारू पर्यटनका रुपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिन गरिएको थियो । मन्त्री केसीलाई ढकियाका साथै ढिक्री, आलुको अचार, सिद्रा माछा, थारू जाँडसमेत दिइएको थियो ।
कार्यक्रमको अन्ततिर मन्तव्य व्यक्त गर्नुभएका मन्त्री केसीले दाङ थारूहरुको बाहुल्य भएको यस जिल्लामा थारू पर्यटन विकासका लागि प्रदेश सरकारले थारू सङ्ग्राहलय बनाउन लागेको बताउनुभयो ।
थारूहरुको राजाको नामबाट रहेको ‘दङ्गीशरण’मा थारू सङ्ग्राहलय बनाउनका लागि प्रदेश ५ सरकारले रु दुई करोड बजेट छुट्याएको जानकारी दिँदै उहाँले भन्नुभयो, “ यो गाउँपालिकामा पहाडी तथा तराईका बासिन्दाको बसोबास रहेकाले विविध संस्कृतिमा पनि प्रदेशकै धनी गाउँपालिका बनेकोे छ ।”
पायक पर्ने ठाउँमा प्रदेश मुकाम
मन्त्री केसीले प्रदेशका १२ वटै जिल्लाका बासिन्दालाई पायक पर्ने ठाउँमा मुकाम तोक्ने बताउनुभएको छ । शान्तिनगर गाउँपालिकाको आयोजनामा बुधबारदेखि शुरु भएको अध्यक्षकप रनिङ शिल्ड उद्घाटनका क्रममा प्रदेशका १२ वटै जिल्लाका नागरिकललाई न्याय हुने गरी मुकाम तोक्ने तोकिने उहाँले बताउनुभएको हो । “हामीले पर्सिदेखि प्रदेशको मुकाम तोक्न छलफल शुरु गर्नेछौँ, त्यसका लागि एउटा समिति पनि बनेको छ” उहाँले भन्नुभयो, “प्रदेशका सबै जनतालाई पायक पर्ने ठाउँमा हामीले राजधानी तोक्नेछौँ ।”
खेलकूदको विकासका लागि प्रत्येक वर्ष उक्त प्रतियोगिता आयोजना हुँदै अएको छ । सो प्रतियोगितामा गाउँपालिकाभित्रका माविस्तरीय वक्तृत्वकला प्रतियोगिता, कक्षा १ देखि ३ सम्मका लागि विद्यालयस्तरीय श्रुतिलेखन, २०० मिटर छात्रछात्रा दौड, कक्षा ९–१२ को विद्यालयस्तरीय हाजिरी जवाफ, कक्षा ४ र ५ स्तरीय गणित दौड, वडास्तरीय लोकदोहोरी, विद्यालयस्तरीय नृत्य, वडास्तरीय पुरुष भलिबल खेल समावेश गरिएको छ । त्यस्तै वडास्तरीय फुटबल, क्रिकेट, झाँकीहरु, महिला भलिबल, विद्यालयस्तरीय मार्चपास, करातेलगायत खेलकूद पनि समावेश गरिएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू