०९ माघ २०८१

अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

९ माघ २०७५, बुधबार १२:०२ मा प्रकाशित

चितवन, ९ माघ ,, उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८.१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बिचौलियाका कारण कृषक र उपभोक्ता मारमा परेका छन् । अहिलेको बजार संरचनाअनुसार पाँच ठाउँ पार गरेर किसानको अण्डा उपभोक्ताकोमा पुग्ने गर्दछ । कँडेलको भनाइमा किसानले दानावालालाई अण्डा दिने गर्दछन् । दानावालाले प्रमुख शहरको सङ्कलन केन्द्र (डिलर)लाई अण्डा दिने गर्दछ । त्यसपछि अण्डा केन्द्रबाट सहायक केन्द्र, सहायक केन्द्रबाट बिक्री गर्ने व्यक्ति (सेल्सम्यान) र बिक्री गर्ने व्यक्तिबाट किराना पसलसम्म पुग्छ ।

यसरी अण्डा उपभोक्ताकोमा पुग्दै गर्दा एउटाले प्रतिक्रेट रु पाँचदेखि रु ३० सम्म नाफा राख्ने सैद्धान्तिक सहमति रहेको छ । यद्यपि बजारको अवस्था हेरेर बढी नाफा राखिदिँदा किसान र उपभोक्ता मर्कामा पर्ने गर्दछन् । अण्डाको दरभाउमा बिचौलियाको प्रभाव हुने हुँदा किसानले लागत मूल्य नपाएको गुनासो गरेका छन् ।

सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले किसान र उपभोक्तालाई लाभ पु¥याउन सस्तो पसल सञ्चालन गर्न लागेको बताउनुभयो । पहिलो चरणमा चितवनका तरकारी मण्डी र प्रमुख बजारमा सस्तो मूल्यका अण्डा बिक्री केन्द्र खोलिने छ । क्रमशः काठमाडौँ, पोखरा, दाङलगायतका क्षेत्रमा केन्द्र खोली किसान र उपभोक्तालाई लाभ दिन लागिएको उहाँले जानकारी दिनुभयो । कृषकको ठूलो लगानी भए पनि मूल्य नपाउँदा मारमा परेको पोखरेलले बताउनुभयो ।

दानाको कच्चा पदार्थ महँगिएसँगै अण्डाको लागत मूल्य बढेको छ । हालको बिक्री मूल्यले लागत मूल्य नधान्ने बताउँदै उहाँले बिचौलियाको प्रभाव कम गरेर कृषक बचाउन नसके आत्मनिर्भर रहेको व्यवसाय सङ्कटमा पर्ने बताउनुभयो । हाल नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुँदै आएको छ । दुई हजारभन्दा बढी कृषक लेयर्स कुखुरापालनमा आबद्ध भएको बताउँदै उहाँले एक लाख ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताउनुभयो । अण्डा उत्पादनका क्षेत्रमा मात्र देशभरमा रु ५० अर्ब हाराहारी लगानी भएको पोखरेलको भनाइ छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter