सप्तरी, ३ माघ ,, उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजको स्वास्थ्य सेवा बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ ।
अस्पताल प्रशासन, प्रदर्शनकारी र मृतकका परिवारबीच त्रिपक्षीय सहमतिपछि अस्पतालको सेवा पुनः सञ्चालनमा आएको अस्पतालका निमित्त प्रमुख डा रञ्जित झाले जानकारी दिनुभयो । उपचारका क्रममा बुधबार छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न तीनै पक्ष सहमत भएका छन् ।
सदाको शव परीक्षणका लागि धरान लैजाने तथा दोषीलाई कारवाही गर्ने सहमति भएको छलफलमा सहभागी राजविराज– ५ का वडाध्यक्ष समिर झाले जानकारी दिनुभयो । हातखुट्टा दुखेर अस्पताल भर्ना भएका सदाको चिकित्सकको लापरवाहीले मृत्यु भएको उनकी बुहारी सरितादेवीको आरोप छ । सम्भव भएसम्मको सबै उपचार गर्दागर्दै सदाको मृत्यु भएको डा झाको भनाइ छ ।
–––
तपाईंको प्रतिकृयाहरू