कास्की, २ माघ ,, उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताउनुभयो ।
“नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।” उहाँले भन्नुभयो । पर्यटकको सुविधाका लागि सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट आवश्यक रहेकोमा जोड दिँदै उहाँले देशका विभिन्न भागमा समेत होटल व्यवसाय विस्तार गरिनुपर्ने भनाइ राख्नुभयो । देशले लामो राजनीतिक अस्थिरताबाट स्थायित्व प्राप्त गरेकाले युवा पिँढीलाई स्वदेशमै उद्योग व्यवसायमा लाग्न प्रेरित गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकार उद्योगी व्यवसायीलाई लगानीको लागि वातावरण बनाउन तयार छ भन्नुभयो ।
सन् २०२२ मा प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने उद्देश्यलाई सफल बनाउन सुविधा सम्पन्न होटल विस्तार हुनुपर्ने खाँचो उहाँले औल्याउनुभयो । होटल सञ्चालक मीनराज गुरुङले रु १८ करोड एकल लगानीमा निर्माण गर्नुभएको १० तले सो भवनमा सुविधा सम्पन्न ३२ कोठा, एक अपार्टमेन्ट तथा तीन सेमिनार हल छन् । –––
तपाईंको प्रतिकृयाहरू