काठमाडौँ, २९ पुस ,, राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत तालीम तथा प्रशिक्षण विभागले विभिन्न खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई समावेश गराई कार्यशाला सञ्चालन गरेको छ ।
आगामी फागुनमा प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदलाई लक्षित गरी शुरु गरिएको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यशालाको तालीम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले आज उद्घाटन गर्नुभयो । सो अवसरमा निर्देशक रानाभाटले आठौँ राष्ट्रिय खेलकूदका साथै अन्य प्रतियोगितालाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन तालीम आयोजना गरिएको बताउनुभयो ।
पहिलो पटक सङ्घीय संरचनाअनुसार आठौँ राष्ट्रिय खेलकूद हुन गइरहेको सन्दर्भमा त्यसलाई कसरी व्यवस्थित र भव्यरुपमा सफल पार्ने भन्ने सन्दर्भमा प्रशिक्षक र सहायक प्रशिक्षकलाई प्रशिक्षण उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । कार्यशालामा प्रशिक्षण विभागका उपनिर्देशक सुशीलनरसिंह राणाले सहभागीलाई प्रशिक्षकको जिम्मेवारी, खेलाडी तथा प्रशिक्षकको मूल्याङ्कन, प्रतियोगिता व्यवस्थापनलगायत विषयमा जानकारी दिने बताउनुभयो । प्रशिक्षणमा विभिन्न २३ खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षक गरी ४६ जनाको सहभागिता छ ।
–––
तपाईंको प्रतिकृयाहरू