खोटाङ, २९ पुस ,, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमा पिनट्स बटर उद्योग सञ्चालन भएपछि यहाँ उत्पादित बदामले राम्रो मूल्य पाएको छ ।
जापानिज नागरिक कोतो बुकिनाकाको लगानीमा सञ्चालित उद्योगले कच्चा पदार्थका रुपमा बदाम खपत गर्न थालेपछि मूल्य पाएको हो । उद्योगले प्रतिकेजी रु २५० का दरले किसानबाट बदाम खरिद गर्ने गरिएको उद्योगका प्रबन्धक बासुदेव राईले बताउनुभयो । एक केजीमा करीब साढे पाँच कुरुवा बदाम जान्छ । स्थानीय बजारमा आठ कुरुवा (एक पाथी) बदाम रु २०० मा किनबेच हुने गरेको थियो ।
हलेसी तुवाचुङ नगरपालिकामा मात्र बदाम खेती हुँदै आएको छ । विपना इन कर्पोरेशन नामक बदाम प्रशोधन उद्योगमा दुर्छिमको चुमाखु, रातमाटे, धितुङ र डिकुवामा उत्पादित बदाम खपत हुने गरेको छ । यसअघि हलेसी, अर्खौले, दिक्तेल, ओखलढुङ्गालगायत बजारमा बिक्री गर्न लगिने बदाम उद्योग स्थापनापछि गाउँमै खपत हुन थालेको नगर प्रमुख इवन राईले बताउनुभयो । गत वर्ष स्थापना गरिएको उद्योगले उत्पादन गरेको पिनट्स बटर काठमाडौँलगायतका ठाउँमा खपत हुने गरेको छ ।
उद्योगमै प्रतिकेजी रु एक हजार ५०० मा बिक्री हुने पिनट्स बटर काठमाडौँमा कम्तिमा प्रतिकेजी रु दुई हजारका दरले बिक्री हुने गरेको प्रबन्धक राईले जानकारी दिनुभयो । उद्योगका कारण बदामको पकेट क्षेत्रका रुपमा रहेको नगरपालिकाका केही वडामा उत्पादन हुने बदामको बजार समस्या हल भएको छ । गत वर्ष तीन हजार केजी बदाम खपत गरेको उद्योगले यो वर्ष छ हजार केजी बदाम खरिद गरेको छ ।
आगामी माघपछि ‘इनर्जी बार’ पनि उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ । हिमालमा चढ्ने आरोहीले उपयोग गर्ने इनर्जी बार हिमाली क्षेत्रका बजारलाई लक्षित गरेर उत्पादनको तयारी गरिएको छ । उद्योगमा हाल स्थानीय नौ युवालाई रोजगारी दिइएको प्रबन्धक राईले जानकारी दिनुभएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू