पर्वत, २९ पुस ,, नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचाँै अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
कूल खसेका ६० मतमध्ये मायाको पक्षमा ३० मत परेको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी उत्तम अधिकारीले पनि ३० मतनै प्राप्त गर्नुभएको थियो । अध्यक्षका दुवै उम्मेदवारको मत बराबर परेपछि गरिएको गोलाप्रथाका क्रममा माया पहिलो दुई वर्षे कार्यकालका लागि अध्यक्ष बन्नुभएको छ भने पछिल्लो दुई वर्ष उत्तमले जिम्मेवारी लिने प्रेस युनियन पर्वतले जनाएको छ । प्रेस युनियन जिल्ला शाखाको कार्यावधि चार वर्षे हुनेछ ।
त्यसैगरी कार्यसमितिको खुला उपाध्यक्षमा रोशन तिवारी, समावेशी उपाध्यक्षमा ठाकुर रसाइली, सचिवमा साजन परियार, कोषाध्यक्षमा रामकृष्ण लामिछाने र सहसचिवमा सङ्गीता क्षेत्री चयन हुनुभएको छ । सदस्यमा देवराज पुरी, विष्णुप्रसाद तिवारी, कामना रेग्मी, मीना पराजुली, मुना शर्मा लामिछाने रहनुभएको छ ।
केन्द्रीय पार्षद्मा छविलाल तिवारी, इन्द्रकुमार विकल्प, गणेशबहादुर क्षेत्री, गोविन्द अधिकारी, रामप्रसाद शर्मा, हरिनारायण रेग्मी, ओमप्रसाद घायल, विश्वप्रकाश प्रसाइँ, सरस्वती शर्मा जिज्ञासु, मुना भुसाल, इन्दीरादेवी शर्मा र विष्णु गौतम चयन हुनुभएको अध्यक्ष मायाले जानकारी दिनुभयो ।
सात सयलाई घरदैलोमै पुगेर नागरिकता
नागरिकता बनाउन सदरमुकाम आउँदा समय र आर्थिक खर्च बढी हुन्छ । वृद्ध र अशक्त त अझै यही कारण नागरिकता नबनाई बसेका हुन्छन् । नागरिकलाई गाउँमै सुविधा दिने उद्देश्यले पर्वत जिल्ला प्रशासन कार्यालयले भने अभियानकै रुपमा घुम्ती शिविरबाट नागरिकता दिन थालेको छ ।
नागरिकले घरदैलोमा नै सेवा पाउन सकून् भन्ने उद्देश्यले घरघरमै पुगेर नागरिकता दिन थालिएको हो । साउनयता पर्वतका विभिन्न गाउँमा सञ्चालित आठ वटा घुम्ती शिविरबाट ७०० भन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्वतले स्थानीय तहको समन्वयमा सदरमुकामसम्म नागरिकता बनाउनकै लागि आउन अपायक पर्ने स्थानमा पुगेर शिविर सञ्चालन गर्दै आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सञ्चालन गरेका आठ स्थानमध्ये कुश्मा नगरपालिका–१३ खौलालाँकुरी र फलेवास नगरपालिका–२ थापाठानामा प्रतिलिपि नागरिकतासहितको घुम्ती शिविर सम्पन्न गरेको छ । यी दुई स्थानबाट मात्रै १९० नयाँ नागकिता र १२७ प्रतिलिपि गरी ३१६ नागरिकता प्रमाणपत्र वितरण गरिएको नागरिकता फाँटका नारायण पौडेलले जानकारी दिनुभयो । त्यस्तै मोदी गाउँपालिकाको राम्जादेउरालीमा ७७ लाई नागरिकता प्रदान गरिएको छ ।
शिविर सञ्चालनका क्रममा मोदी गाउँपालिकामा १५०, जलजला गाउँपालिकामा ६२, विहादी गाउँपालिकामा १०९, महाशिला गाउँपालिकामा ५८, फलेवास नगरपालिकामा २१४ र कुश्मा नगरपालिकामा ११६ लाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू