०५ माघ २०८१

पर्यटकलाई एक सयमा कोठा

१५ पुष २०७५, आईतवार १०:१३ मा प्रकाशित

बागलुङ, १५ पुस,, अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार साङ्गीतिक साँझको आयोजना गर्दैछ । सोही कार्यक्रमलाई लक्षित गरी व्यवसायीले सोमबार एक दिनलाई छुटमा कोठा दिने भएका हुन् ।

सदरमुकामका १० होटलले रु १०० मा १०० कोठा उपलब्ध गराउने भएका छन् । समितिको अनुरोधमा सहुलियतमा कोठा दिन व्यवसायी तयार भएका हुन् । खाना, नास्तामा भने चल्तीकै दर कायम गरिनेछ ।

नयाँ वर्ष मनाउन बाहिर जाने पर्यटकलाई जिल्लामै राख्ने उद्देश्य रहेको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । “थुप्रै मानिस नयाँ वर्ष मनाउन बाहिर जान्छन्” उहाँले भन्नुभयो, “जिल्लामै रमाउने वातावरण सिर्जना गर्न खोजका हौँ ।” बाहिरी पर्यटक पनि नयाँ वर्ष मनाउन बागलुङ आउने अवस्थाको सिर्जना गरिने समितिले जनाएको छ ।

बागलुङको पर्यटन प्रवद्र्धनमा कार्यक्रमले टेवा पुग्ने होटल व्यवसायी अर्जुन चोखालले बताउनुभयो । “समिति र व्यवसायी मिलेर एउटा सन्देश दिन खोजेका हौँ” उहाँले भन्नुभयो । पर्यटक भित्र्याउन नसके होटल व्यवसाय सङ्कटमा पर्ने उहाँको भनाइ छ । पाहुनाको चाप भएमा अन्य होटल पनि छुटमा कोठा दिन तयार छन् । साङ्गीतिक साँझमा विभिन्न कलाकारको प्रस्तुति रहने जनाइएको छ ।
समितिले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको छ । सरकारले हालैमात्र कालिका भगवती मन्दिर, ढोरपाटन, भकुण्डे, भैरवस्थान र गाजाको दहलाई पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेपछि पर्यटन क्षेत्रमा आशा जागेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter