म्याग्दी, ५ पुस,, धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले जन्माएका तिम्ल्याह शिशुको उपचारका लागि बेलायतबाट रु एक लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका कमला र राजुका शिशुको उपचारका लागि हिलापोखरी घर भई हाल बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनको पहलमा रु एक लाख तीन हजार २३४ सहयोग प्राप्त भएको हो ।
पुनले बेलायतबाट पठाउनुभएको रकम गण्डकी प्रदेशका सांसद बिनोद केसी र पुनका छोरा खुम पुनले बुधबार अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभयो । यसअघि हिलापोखरीस्थित टोल सुधार समितिको पहलमा स्थानीयवासी, विभिन्न सङ्घ संस्था र व्यक्तिबाट रु एक लाख १५ हजार सहयोग जुटेको थियो ।
परियारले शल्यक्रियामार्फत मङ्सिर ११ गते बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकीमा एक छोराको मृत्यु भइसकेको छ भने अन्य दुईको स्वास्थ्यमा सुधार आइरहेको छ ।
कमलाको स्वास्थ्य सामान्य रहे पनि शिशुको उपचारका लागि अर्थाभावका कारण समस्या भएको छ । छोराको ९०० र छोरीको तौल ८०० ग्राम छ । आठ वर्षको हुँदा बुबालाई गुमाएका राजुकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो विवाह गरेर गएकीले वडा सदस्य नरकुमारी गुरुङले उनलाई कक्षा १२ सम्म पढाउनुभएको थियो ।
तीन वर्षअघि कमलासँग विवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारिक अवस्था कमजोर रहेको टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लले बताउनुभयो ।
मङ्गलाको मोबाइल एप्स
म्याग्दीको मङ्गला गाउँपालिकाले मोबाइल एप्स सेवा सञ्चालनमा ल्याएको छ । एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लिकेशनमा गएर मङ्गला मुनिसिपालिटी प्रवेश गरे गाउँपालिकाको सबै कार्यक्रम हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अमृता थापामगरले जानकारी दिनुभयो ।
एप्सबाट गाउँपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण, महत्वपूर्ण स्थानको जानकारी र आपतकालीन टेलिफोन नंको जानकारी पाउन सकिने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।
यसअघि रघुगङ्गा गाउँपालिकाले पनि मोबाइल एप्स सञ्चालनमा ल्याइसकेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा बेनी नगरपालिका, मालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाको पनि मोबाइल एप्स बनाउने तयारी भएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू