ढुङ्गेनटार, ३ पुस,, भूकम्पले पूर्ण रुपमा आवास क्षति भएका नुवाकोटका ९६ घरले नमूनाका रुपमा जीविकोपार्जनका आधारसहित पुनःनिर्माण सम्पन्न गरेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र ९इसिमोड० ले विदुर नगरपालिका–६ र १२ का ९६ परिवारलाई पूर्वाधार, कृषि, सामुदायिक विकास, स्वास्थ्य क्षेत्रमा सहयोग गरेको हो । बस्तीमा दलितको बाहुल्यता छ ।
एकजना लाभग्राहीलाई रु दुई लाखको निर्माण सामग्री, रु ५० हजारको शौचालयका सामग्री र बायो ग्यास, सोलार तथा कृषि व्यवसाय गर्न चाहनेलाई विशेष सहयोग गरेको इसिमोडका कार्यक्रम संयोजक गोविन्द जोशीले राससलाई जानकारी दिनुभयो ।
इसिमोडकै सहयोगमा बस्तीवासीले कार्यक्रमको दिगोपनका लागि ढुङ्गेनटार पुनःनिर्माण तथा विकास समाज गठन गरेका छन् । समाजका लागि इसिमोडले कार्यालय भवनसहित चारजना सामाजिक परिचालकको व्यवस्था गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि इसिमोडले यहाँ जलवायु परिवर्तन सम्बन्धी काम शुरु गरेको थियो ।
कार्यक्रम शुरु भएकै बेला भूकम्पले गाउँ क्षत् विक्षत भएपछि प्राधिकरणसँगको सहकार्यमा बस्तीवासीलाई सहयोग गरिएको जनाइएको छ । यहाँका लाभग्राहीले सरकारी अनुदान रु तीन लाख पनि पाएका छन् । सहयोगी संस्था र अनुदानले यो बस्ती भूकम्पपछिको नमूना गाउँ बन्न सफल भएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रतिरोधात्मक पर्वतीय गाउँ हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा उहाँले भूकम्प प्रभावित २७२ स्थानीय तहमा सामाजिक परिचालक खटाई आर्थिक सामाजिक पुनःनिर्माण शुरु गर्ने तयारीमा लागिएको बताउनुभयो । पुनःनिर्माणमा स्थानीय सरकारलाई बढी जिम्मेवारी बनाइने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले इसिमोडले बस्तीमा शुरु गरेका कामको दिगो व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । जिल्लाका १२ वटै स्थानीय तहमा नमूना ग्राम निर्माणको कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
नगर प्रमुख सञ्जु पण्डितले लाभग्राहीको दुई प्रतिशतले मात्र अनुदान नपाए पनि न्याय नहुने भएकाले भरिएको गुनासो व्यवस्थापन छिटो गर्न प्राधिकरणसँग माग गर्नुभयो । उपप्रमुख गीताकुमारी दाहालले बस्तीका सात घरले अझै अनुदान नपाउँदा घर बनाउन नसकेको समस्या छिटो समाधान गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा इसिमोडका महानिर्देशक डेभिड मोल्डन, राजनीतिक सहयोग निर्देशक वसन्त श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन एकाई ९भवन० का प्रमुख नवराज प्याकुरेल, जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख कोषनाथ अधिकारी, समाजका अध्यक्ष रामहरि विक लगायतले कार्यक्रमको निरन्तरताका लागि स्थानीय सरकारसँग सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।
नमूना ग्राम निर्माणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसहित निजी क्षेत्रका गरी २९ सङ्घ संस्थाको सहयोग रहेको सो अवसरमा जानकारी गराइयो । हालसम्म सात परिवारले कृषिमा सुधारका लागि रु २० हजार लिएका छन् । अनुदान लिई तिलक विकले नमूना कृषि फार्म चलाउनुभएको छ ।
कृषि फार्म शुरु गरेपछि जीवनयापनमा सहजता आएको उहाँले सुनाउनुभयो । बस्तीमा खानेपानी र सिँचाइको अझै समस्या छ । बस्तीको बीचबाट नदी बगे पनि खानेपानी र सिँचाइका लागि व्यवस्थापन गर्न नसकिएको स्थानीयवासी विजय विकले गुनासो गर्नुभयो । स्थानीयवासीले नगरपालिकालगायत सहयोगी संस्थालाई त्यसको व्यवस्था गर्न माग गरेका छन्् ।
–––
तपाईंको प्रतिकृयाहरू